कविता :शून्यतामा बिलाउनु अघि
शून्यतामा बिलाउनु अघि
– जीवन खत्री
लागेथ्यो
म पनि केही त हुँला
कम्तिमा
तिम्रो बगैँचामा झरेको कुनै एउटा पात
तिम्रो बारीमा उभिएको कुनै एउटा रूख
वा तिम्रो विशाल सहरको एउटा सानो डेरा
केही त हुँला म पनि
रङ खुलिए पनि तिम्रो घरको एउटा ईट्टा
धागो उध्रिए पनि तिम्रो कमिजको एउटा टाँक
वा कालै भए पनि
तिम्रो शृङ्गार कोठाको एक धर्सो गाजल
तर प्रमाणित भएको छ आज
कि केही पनि रहीन म, सिवाय केही प्रश्न
जस्तो,
रूख हुनुको अर्थ फल मात्र हो कि अरू पनि ?
हावा हुनुको अर्थ अक्सिजन मात्र हो कि अरू पनि ?
जीवनको अर्थ श्वास फेर्नु मात्र हो कि अरू पनि ?
हाय रे दैया ! कति सजिलो छ यहाँ
मुटु ताकेर धनुष चलाउन
छानो रोजेर आ*गो सल्काउन
बगैँचा छानेर फूल बगाउन
अब यो रित्तो चौतरीमा कुर्नु कसलाई?
यो बाटोमा फूल ओछ्याउनु कसलाई ?
म सहन सक्दिन यस्तो च*ट्याङ,
भैगो, म गएँ यो शून्यभित्र
बिदा ! बिदा !! बिदा !!!
तर, शून्य भित्र पनि कोही कराउँदैछ
म सुन्छ, -“समय कति छिट्टै बदलिएछ
हिजो फूल थिएँ म, आज काँडा भैसकेछु ।”
***