शेखर कोइरालासहित कांग्रेस नेताहरु डडेलधुरामा, ११ दिनदेखिको अनशन स्थगित

शेखर कोइरालासहित कांग्रेस नेताहरु डडेलधुरामा, ११ दिनदेखिको अनशन स्थगित

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पुनः वडा अधिवेशन गराउन माग गर्दै अनशनरत नेता कार्यकर्ताले अनशन स्थगित गरेका छन् ।

जिल्लाका नेता कार्यकर्ताको अनशन र क्रियाशील सदस्यताको विवादबारे स्थलगत जानकारी लिन पुगेका केन्द्रीय सदस्य शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरेसहितको टोलीले तत्काललाई अनशन स्थगित गराएका हुन् ।

देउवा पक्षले क्रियाशील सदस्यताको विवादका बीच वडा अधिवेशन गराएपछि सभापति कर्णबहादुर मल्लसहितले बहिष्कार गरेका थिए । त्यसपछि ११ दिनदेखि कार्यवाहक सभापति करुणाकर भट्टसहित नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा रिले अनशन गर्दै आएका थिए ।

केन्द्रीय नेताहरुले देउवाको गृह जिल्ला पुगेर अनशन तोडाउँदै पार्टीभित्रको बेथितिविरुद्ध केन्द्रीयस्तरमै लडाइँ भइरहेको र त्यसैअन्तर्गत डडेलधुराको विवाद समेत समाधान हुने आश्वासन दिएका छन् । अनशन तोडिएपछि नेताहरुले पौडेल समूहले गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

डडेलधुरामा २५ भदाैमा देउवा पक्षले वडा अधिवेशन गराएको थियो । तर जिल्ला सभापति मल्लले भने जिल्लाबाट विधानबमाेजिम सिफारिस गरी पठाएका ४६० जना क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट नयाँ सदस्य थप गरिएको भन्दै वडा अधिवेशन बहिष्कार गरेका थिए ।

डडेलधुराकाे विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नै पुन: अधिवेशन हुनुपर्ने माग गर्दै आएकाे छ । नेता पौडेलले पनि आइतबार विज्ञप्ति जारी गर्दै डडेलधुराका नेता कार्यकर्ताको मागमा आफ्नो पनि समर्थन रहेको बताएका थिए । देउवा पक्षले भने अर्को पक्षको सहभागिता बिनै पालिका तहकाे अधिवेशन समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *