राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसनको इलाका प्रशासन कार्यालय बिनायकमा उद्घाटन

राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसनको इलाका प्रशासन कार्यालय बिनायकमा उद्घाटन

बैशाख २ ,अछाम : इलाका प्रशासन कार्यालय बिनायक अछाममा राष्ट्रिय परिचयपत्र दर्ता विवरण दर्ता इकाइ स्थायी स्टेसनको बिनायकमा आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । राष्ट्रिय परिचयपत्र ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नागरिक हरु संग राष्ट्रिय परिचयपत्र सम्बन्धी छलफल अन्तरकृया तथा अभिमुखिकरण समेत गरिएको थियो ।

राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र,बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा)विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित/ नाता प्रमाणितको सक्कल प्रमाणपत्र ,नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टाका कागजात आवश्यक पर्ने प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबै खाले सेवा प्रवाह छिटो छरितो रूपमा गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान थालेको प्रजिअ पोखरेलले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुवर प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि कुवरले राष्ट्रिय परिचयपत्र यहाँ बाटै दर्ता हुने भएपछि बिनायकबासीका लागी खुशीको कुरा भएको बताउनुभयो । यही कामको लागी पैसा खर्च गरेर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै
पञ्चदेवल बिनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले इलाका प्रशासन कार्यालय बिनायकमै
राष्ट्रिय परिचयपत्र दर्ता हुने भएपछी नगरपालिकाका दुर्गम ठाउँका जनतालाई धेरै राहत हुने बताउनुभयो ।

ग्रामीण भेगका नागरिक हरुलाइ राहत हुने गरि बिनायकमै सेवा दिएकोमा प्रमुख जिल्ला अधिकारी लाई धन्यवाद समेत दिनुभयो । साथै उहाँले नागरिकता बनाउन पनि पैसा खर्च गरेर टाढा जानुपर्ने यस ठाँउका नागरिकहरुको समस्या लाई मध्यनजर गर्दै बिनायक बाट नागरिकता प्रदान गर्न सहजीकरण गरिदिन प्रजिअ लाई अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख हर्कबहादुर रावल ,जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक ,समाजसेवी टंक बहादुर धामी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन इलाका प्रशासन कार्यालय बिनायकका नायब सुब्बा मनबहादुर बडुवालले गर्नुभएको थियो ।

परिचयपत्र लागु भएपछि नेपाल राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवासुविधाको माग गर्दा परिचयपत्र पेश गर्नुपर्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *