कथा : बा’ध्यताभित्रको जिन्दगी

कथा :  बा’ध्यताभित्रको जिन्दगी

कथाकार . रबिन्द्र बुढाथोकी,रामेछाप

व्यस्त सडक,व्यस्त मानिस,व्यस्त जीवनशैली,व्यस्त-व्यस्तभित्र अभ्यस्त भैसकेको बा’ध्यताको जिन्दगी। यहाँ कसैलाई कसैको बारे सोच्ने फुर्सद कहाँ छ र ? आफ्नै बारे सोच्ने फुर्सद नभएको बेला। रोटेपिङझैँ गोलगोल घुमिरहेछ प्रत्येक मानिस बाध्यताभित्र बिहानदेखि बिलुकीसम्म। बाँधिएको छैन कुनै बन्धनले। थुनिएको छैन कुनै पिँन्जडामा। स्वतन्त्र छ र स्वतन्त्र हुँदाहुँदै पनि बाँधिएको छ,प्रत्येक मानिस जिम्मेवारीको ब’न्धनले। थुनिएको छ कर्तव्य र दायित्वको पिन्जडामा।
वैशाख महिना,रत्नपार्क। यसो दायाँबायाँ आँखा घुमाउँछु। बोटबिरुवाहरु मख्ख छ्न्,पुराना पहेँलिएका लुगा फालेर नयाँ हरिया लुगा फेर्न पाएकोमा। चराचुरुङ्गी सबै मख्ख छ्न्,गाउँदै खेल्दै तिनै रुखमा,तिनै बोटबिरुवामा लुकामारी खेल्न पाएकोमा। अलि पर हेर्छु घण्टाघर ठिङ्ग उभिएको छ,गोलो टाउकोमा तीनवटा सुइरा गाडेर। मृ’त्युशैयामा बिरामी छट्पटाएझैँ, छट्पटाईरहेछ घण्टाघरको अघि रानीपोखरी। आफ्नो वर्षौँ अघिदेखिको अस्तित्व गुम्ने जोखिम सम्झेर। कंक्रीट नै कंक्रीटको कंक्रीटे शहरमा कंक्रीट र फलामले थिचिएर दुब्लो र ख्याउटे भएर मर्नै लागेछ खुल्लामन्च। मान्छेजस्तै तँछाड मछाड गरेर गुडिरहेछन् गाडीहरु,कंक्रीटे शहरका कंक्रीटे मन भएका मान्छे बोकेर।
यसो आकाश हेर्छु,स्निग्ध छ,निलो सागरजस्तै। रवि खोज्छ्न् आँखाहरुले। रवि त अघि नै बास बसिसकेछ। सायद दिनभरिको थकानले। भोलिको नयाँ यात्राका लागी। शक्ति सन्चय गर्न। जे पनि हुन सक्छ। यसो समय हेर्छु,समयलाई बिस्तारै बुढ्यौलीले छुँदैछ। समयलाई बुढ्यौलीले छोएसँगै चराचुरुङ्गी पनि उडेर कतै गए- सायद आफ्नो गुँड। मान्छेका पाइलाहरु पनि हतारिएको देख्छु। सायद ती पाइलाहरुलाई पनि पुग्नु थियो,अँध्यारो चुक धर्तीमा नपोखिँदै आफ्नो गुँड। खुवाउँनु थियो बचेरा बचेरीलाई आहारा। बिसाउनु थियो दु:ख पीडा। मार्नु थियो,दिनभरिको थकान। बिर्सनु थियो अतीत। गर्नु थियो,वर्तमानको समीक्षा। गर्नु थियो,भोलिको सुन्दर भविष्यको कल्पना र लिन हुनु थियो,केही घण्टा निन्द्रादेवीको काखमा।
यथार्थको धरातल बिर्सिएर कल्पनाको बिमानमा उडिरहेको बखत देखेँ केही पाइतालाहरुलाई। केही मान्छेहरुलाई। किन्चित हतार थिएन,ती पाईतालाहरुलाई। ती मान्छेहरुलाई। धेरै मान्छेको दिनको अन्त्य हुँदा,केही मान्छेको दिनको सुरुवात हुँदै थियो सायद। धेरै मान्छेको रवि अस्ताएर शशी उदाउँदा, केही मान्छेको शशी अस्ताएर रवि उदाउँदै थियो सायद। रत्नपार्कमा। ठमेलमा। पुरानो बसपार्कमा। नयाँ बसपार्कमा। रेष्टुरेन्ट र बारमा। ठुला ठुला महलमा। शहरका कुनाकुनामा। गल्लिगल्लिमा। बिस्तारै शहरको दिक्क लाग्दो कोलाहल र चिच्याहट घट्दै थियो। सोचेँ- यिनै मान्छे त रहेछ्न्,यिनै गाडी त रहेछ्न्। शहरलाई दिक्क लाग्दो बनाउँने,कोलाहल र चिच्याहट लाग्दो बनाउँने।
यस्तै के-के सोचिरहेको बखत मेरा आँखा एउटी युवतीमा गएर टक्क अडिन्छ्न्। लामो केश,गोलो अनुहार,गाजलु आँखा,रातो गुलाफजस्तै रातो लिपिष्टिकले सजाएका ओठ,ठिक्क उठेका नितम्ब,छिनेको कम्मर,सलक्क मिलेका हात गोडा,त्यस्तै बीस एक्काईस वर्ष लाग्ने उमेर,पाँच फिट जतिको हाईट र काँधमा छड्के पारेर भिरेको सानो रातो साईड ब्याक। समग्रमा भन्दा एउटी सुन्दर युवती। अरु केही पाईतालाहरुलाई जस्तै ती एकजोर पाइतालाहरुलाई पनि हतार थिएन। सायद कसैको प्रतीक्षारत थिए,ती पाईतालाहरु। तर कस्को प्रतिक्षामा थिए ? यसको उत्तर प्रतिक्षारत पाईतालाहरुलाई पनि थाहा थिएन कि ? यताउता गरिरहेका थिए, एकजोर आँखाहरु । तर कसलाई खोजिरहेका थिए, ती एकजोर आँखाहरुले ? सायद यसको उत्तर पनि थाहा थिएन कि,ती एकजोर आँखाहरुलाई पनि। सोचेँ- परिचितलाई प्रतीक्षा गर्नु त ठिकै हो। तर अपरिचित मान्छेलाई खोज्नु, अपरिचित मान्छेलाई पछ्याउँनु, ती आँखाहरुको,ती पाईतालाहरुको रहर हो या बाध्यता ? म अनुत्तरित नै रहेँ। सोचेँ- भर्खर फक्रीँदै गरेको यो सुन्दर फूलले पनि बेरोजगारी उत्पादन गर्ने विश्वविद्यालयले थमाएको योग्यताको खोस्टो सिरानीमा राखेर,दराजमा थन्क्याएर या खरानी बनाएर यो जीवन त रोजेन। यो बाटो त रोजेन। जे पनि हुन सक्थ्यो। यस प्रश्नमा पनि म अनुत्तरित नै रहेँ।
बिस्तारै उज्यालोमाथी अँध्यारोले साम्राज्य जमाउँदै गयो। मलाई पनि पुग्नु थियो,आफ्नो गुँड। बिस्तारै पाइला आर.एन.ए.सि. तिर अगाडि बढाएँ। सिनामंगलको माईक्रो चढेँ। आर.एन.ए.सि. बाट माईक्रो अगाडि बढ्यो। बाटोभरी, माइक्रोभरी मेरा आँखामा नाचिरहिन् तिनै युवती। सोचेँ- देशको अवस्था राम्रो भैदिएको भए, उच्च,मध्यम र निम्न वर्गबीच शिक्षामा विभेद नभएको भए,जागिरमा नातावाद र कृपावाद हाबी नभएको भए,ढोकाबाट गरिबिले नचिहाएको भए,साँझ-बिहान चुल्हो बलेको भए। सायद ती एकजोर पाईतालाहरुले,ती एकजोर आँखारुले,अन्जान शहरमा,अन्जान मान्छेहरुको प्रतीक्षा गर्दै केही रुपैँयामा कंक्रीटे शहरको कंक्रीटे मन भएका भमरासँग प्रत्येक दिन अस्मिता लुटाउँनु पर्दैन थियो होला, त्यति सुन्दर फूलहरुले ।
सोच्दासोच्दै मनको ताल फुटेर कतिखेर आँखा रसाई भ्याएछ्न्,पत्तै भएन। कसैले थाहा नपाउँने गरि आँशु पुँछे। माईक्रो मेनरोड छोडेर शान्तिनगर गेटभित्र छिर्यो। माईक्रो ॐ कारेश्वर पुग्यो,रोकेँ। झरेँ। तिनै सुकुमारी युवतीको सुरु हुँदै गरेको कहाली लाग्दो बाध्यताभित्रको कलिलो जिन्दगी सम्झदैँ, गह्रुँगा पाइलाहरु कोठातर्फ लम्काएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *