कांग्रेसले मिसन ८४ को होइन, देशको वर्तमान अवस्थाकाे चिन्ता गर्नुपर्दछ : महामन्त्री शर्मा

कांग्रेसले मिसन ८४ को होइन, देशको वर्तमान अवस्थाकाे चिन्ता गर्नुपर्दछ : महामन्त्री शर्मा

अछाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले मिसन ८४ को नभइ देशको वर्तमान अवस्थाको चिन्ता गर्नुपर्ने बताएका छन् ।

देशका जिम्मेवार राजनीतिक दलहरूले २०८४ मा आउने निर्वाचनलाई आफ्नो लक्ष बनाइराखेको अवस्थामा नेपाली कांग्रेसले देशको वर्तमान अवस्थाको बारेमा सोच्नुपर्ने महामन्त्री शर्माले बताए ।

नेपाली काँग्रेस अछामको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै शर्माले ८४ को चुनाव मात्र कांग्रेसको प्राथमिकता नभएकोले देश र जनताको पक्षमा गम्भीर भएर लाग्दा चुनावी परिणाम सुखद आउने बताए ।

नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गरेर अस्थिर बनाउने चलखेल भइरहेको भन्दै उनले कांग्रेसले धैर्य र परिपक्व भएर काम गर्नुपर्ने बताए । नेपाल हिजो जहाँ थियो त्यहीँ छ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै महामन्त्री शर्माले त्यो गलत रहेको र नेपाल धेरै अगाडि बढेको बताए ।

१५ वर्षलाई मात्र हेर्ने हो भनेपनि हिंसै हिंसाको नेपाल र अहिलेको शान्तिपूर्ण नेपालले नै यसको पुष्टि गर्ने उनले बताए । हिजो एकात्मक शासन प्रणाली र आज संघीय व्यवस्था रहेको बताउँदै महामन्त्री शर्माले भने – ’केही भएको छैन भनिएको छ, धेरै कुरा भएको छ र अझै धेरै गर्न बाँकी छ ।’

नेपालमा हरेक क्षेत्रको विकासमा ६० साल यता धेरै प्रगति भएको छ, उनले भने, ‘अझै पनि धेरै गर्न बाँकी रहेको छ, त्यसका लागि कांग्रेसले पहलकदमी अगाडि बढाइ राखेको छ । ’ देशमा विपत्ति आउँदा सबैभन्दा पहिले निर्णय लिने र नेतृत्व गर्ने पार्टी नै कांग्रेस भएको दाबी समेत महामन्त्री शर्माले गरे ।

‘एमाले, माओवादी, रास्वपा लगायतका दलहरूले मिसन ०८४ थालेका छन्, त्यो जिम्मेवारी उनीहरूलाई नै दिऔँ, उहाँहरूलाई शुभकामना छ अहिले भरखर निर्वाचन भएको एक वर्ष भएको छ, काम गर्न धेरै बाँकी छ, त्यति पछिका आश्वासन बाँडेर बस्ने छुट हामीलाई छैन, हामी काम गर्नका लागि खटिएको पार्टीका कार्यकर्ता हौं, हामीलाई ०८४ सम्म कुर्नुपर्दैन, खुरुखुरु काम गरौँ, हामीलाई बसेर गफ लगाउने छुट छैन’ नेता शर्माले भने ।

‘देशलाई सति को श्राप होइन भगवान बुद्धको आर्शिवाद भएको देशका नागरिक होऔं भन्ने संकल्प का साथ अगाडि बढौं, निराशालाई मात्रै होइन अब उत्साहलाई लिएर अगाडि बढाऔँ देश बनाउने संकल्प अब अछामबाट सुरु गरौँ, त्यसको नेतृत्व र साथमा हरेक कांग्रेसले साथ दिऔँ’ उनले भने । उनले अब बलियो कांग्रेस बनाउन सबैले दृढ संकल्पका साथ लाग्नुपर्ने समेत बताए ।

Leave a Reply