आड्रा नेपालद्वारा विभिन्न स्वास्थ्य संस्थालाई डिग्निटि किट हस्तान्तरण

आड्रा नेपालद्वारा विभिन्न स्वास्थ्य संस्थालाई डिग्निटि किट हस्तान्तरण

अछाम : आड्रा नेपाल अछामले जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमित महिलाका लागि सामग्री हस्तान्तरण गरिएको हो । जिल्लाका साँफेबगर, मंगलसैन, विनायक, कमलबजार नगरपालिका तथा जिल्ला अस्पतालमा डिग्निटि किट र मास्क हस्तान्तरण गरिएको छ ।

कोरोना सङ्क्रमित भई आइसोलेसनमा रहेका महिलाका लागि प्रत्येक स्थानीय तह तथा जिल्ला अस्पताललाई १० थान डिग्निटी किट तथा पाँच सय थान बढी मास्क प्रदान गरिएको आड्रा नेपाल अछामका कार्यालय प्रमुख तृष्णा दाहलले जानकारी दिनुभयो ।

बिहिबार बिहान जिल्ला अस्पताललाई १० थान डिग्निटी किट र सात सय थान मास्क प्रदान गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालयलाई मास्क वितरण गरिएको छ ।

जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा.मनोज बिष्ट, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, नसिंङ निरिक्षक गंगा बुढामगरको उपस्थितिमा उक्त सामग्री प्रदान गरिएको छ ।

सामग्री संस्थाको उद्देश्य अनुसार कोरोना सङ्क्रमित महिलालाई प्रदान गरिने निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.बिष्टले बताउनुभयो । सामग्रीबाट महिलालाई सहयोग पुग्ने उहाँको भनाई छ ।

अहिले जिल्ला अस्पतालाको आइसोलेसनमा सङ्क्रमित महिला नरहेका र अब आउने व्यक्तिलाई सामग्री प्रदान गरिने भएको छ ।

डिग्निटी किटमा बाल्टी, म्याक्सी, सेनिटरी प्याड, कट्टु, कोलगेट, ब्रस, साबुन, लाइट, डिटरजेन्ट पाउडर, नलकटर, तौलिया, सेनिटाईजर, मास्क, लगायतका सामग्री रहेका छन् ।

यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको लागि मास्क समेत प्रदान गरिएको छ । जिल्ला अस्पतालमा सामग्री दिइसकिएको र अन्य स्थानीय तहमा तत्कालै सामग्री दिइने आड्रा नेपाल अछामका कार्यालय प्रमुख तृष्णा दाहलले जानकारी दिनुभयो ।

आड्रा नेपालले महिलाको क्षेत्रमा काम गरिरहेकाले उनीहरुको समस्यालाई मध्येनजर गर्दै सामग्री प्रदान गरिएको जनाएको छ ।

Leave a Reply