दलित मानसिकता – भुवनहरि सिग्देल

दलित मानसिकता – भुवनहरि सिग्देल

छन्द ः इन्दिरा

रगत कर्णको सूर्यदेवको
दमित पात्र यो दासपुत्र भो
परशुरामको शिष्य वीर हो
किन समाजमा निन्दनीय भो ?

अतुल शक्तिको पारखीसँग
कुरु डराउँछन् सामु आउन
छल गरी कुरा कृष्ण लाउँछ
कवच इन्द्रले दान माग्दछ ।

विगत आजको दृश्यचित्र यो
दलित मानवी सोचमात्र हो
कटु समाजको दृष्टिदोष यो
म युवराज रे दास कर्ण हो !

मनुज नेत्रले हेर्नुपर्दछ
भ्रम भए कतै फेर्नुपर्दछ
नियम कागजी घोषणा सबै
विकृत मान्यता रोग हुन् सधैँ ।

दलित दृष्टिको क्षेत्र साँघुरो
दमित भावना नेत्र साँघुरो
म पनि मानवी वंश हो भनी
फुक समाजमा शङ्खका ध्वनि !

बकस सापटी सान होइन
हक लिने दिने दान होइन
प्रलय हौँ सबै बुझ्नुपर्दछ
दमित एकता उठ्नुपर्दछ ।

जुट समाजमा एकछत्त भै
उठ सुषुप्तिका भावना सबै
डट विरोधका साथसाथमा
नसुत चेतना मस्त रातमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *