भ्रष्टाचार असीम भो मुलुकमा: आर.पी. समदर्शी
						भ्रष्टाचार असीम भो मुलुकमा ,अन्याय बढ्दै गयो।
 अत्याचार जताततै शिखरमा ,हाँसेर चढ्दै गयो।।
 बाँकी छैन हिसाब राख्नु कसरी ,यो राष्ट्रमा भक्तिको?
 आयो देश बनाउने समय यो ,पालो युवा शक्तिको ।।
पैसामै छ सिमीत ध्यान जहिले ,कालो बजारी अझै।
 लुट्ने काम नितान्त चल्दछ यहाँ ,साम्राज्य भो भ्रष्टकै।।
 नेता जी जनताहरू अब यहाँ ,छन् बुझ्नसक्ने सबै।
 चिल्ला भाषणले हुँदैन बुझ यो ,नेपाल नौलो कबै।।
धेरै काल बिते लुटी मुलुक यो ,गर्दै मिठा भाषण।
  देखाएर यहाँ विचित्र थरिका ,व्यर्थै ति आश्वासन।।
  तिम्रो शासनकालको अवधिमा ,लुट्दै गयौ सक्कियो।
  आऊ हेर्न तिमी नवीन युगको ,आरम्भ आजै भयो।।
  






