कांग्रेसमा ४० प्रतिशत सिटमा कोइराला समूहको दाबी

कांग्रेसमा ४० प्रतिशत सिटमा कोइराला समूहको दाबी

काठमाडौँ — नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवार चयन गर्दा सिटको न्यायोचित वितरण हुनुपर्ने माग गरेको छ । उम्मेदवार चयनको अन्तिम निर्णय हुने बेला नेता कोइरालाले शनिबार बिहान आफूनिकट नेताहरुसँग छलफल गरेका छन् ।

काठमाडौंको ठमेलस्थित एक होटलमा भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले महाधिवेशनमा भोट नहालेकै आधारमा आफूहरुले टिकट नपाउने र अन्याय हुने अवस्था भए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन् ।

बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत नेताहरु सहभागी थिए ।

डेंगु संक्रमण भएका कारण महामन्त्री गगन थापा भने भेलामा उपस्थित भएनन् । नेता गुरुराज घिमिरेले गठबन्धन गर्ने नाउँमा सभापति देउवाले कोइराला समूहको प्रभाव भएका क्षेत्र गठबन्धनका अन्य दललाई दिने गरी षड्यन्त्र हुने सम्भावना बढेपछि त्यसकालागि दबाब दिनेबारे छलफल भएको बताए ।

‘जहाँ कोइराला समूहको पकड छ, त्यस्ता ठाउँमा गठबन्धन गरेर अन्य दललाई सिट छोडिदिने षड्यन्त्र भइरहेको बुझिएको छ,’ उनले भने, ‘हामीले महाधिवेशनमा सभापतिजीलाई भोट हालेको वा नहालेको आधारमा अवसरको बाँडफाँट हुनु हुँदैन । सबैलाई न्यायोचित रूपमा अवसरको वितरण हुनुपर्छ भनेका हौँ,’ उनले भने, ‘यदि हामीलाई प्रतिस्पर्धी भएकै कारण निषेध गर्ने प्रयास भयो भने हामी चुनाव नै लड्दैनौँ । सभापतिजी एक्लै लडे हुन्छ ।’

बैठकमा नेताहरुले ४० प्रतिशत भाग माग्न नेता कोइरालालाई दबाब दिएका छन् । ‘अहिलेसम्म न्यायोचित अवसरको वितरण भनेर पर्खिएकै हो । तर त्यस्तो हुन सकेको छैन,’ घिमिरेले भने, ‘चुनावमा टिकट वितरणमा पनि त्यही कुरा लागू हुने हो भने सहने कुरा छैन । हामीले ४० प्रतिशत भाग माग्ने हो । ४० प्रतिशत सिटमा उम्मेदवार दिन नपाएको अवस्थामा हामीले विकल्प पनि खोज्नुपर्ने हुनसक्छ । पार्टीभित्रको विद्रोह कसैले रोक्न सक्ने अवस्था हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *