बालउद्यान बजारमा

बालउद्यान बजारमा

बालबालिका हाम्रा भविष्य हुन् । राष्ट्रका भविष्य हुन् । हाम्रा सारा जिम्मेवारी यिनैका काँधमा बिसाएर हामीले बिदा लिनुपर्ने छ । भोलिका राजनेता, व्यापारी, शिक्षक, सामाजिक अभियन्ता, बिज्ञ, सबै यिनै हुन्छन् । आजै यसतर्फ सोच नगरे भोलिको हाम्रो संसार कस्तो होला । त्यसैले त उनीहरूको पालनपोषण, शिक्षा र स्वास्थ्यमा सवै मुलुकले केही न केही बन्दोवस्त मिलाएका हुन्छन् ।

यिनै बालबालिकाहरुमा केन्द्रित भई शिखा बुक्सले बालउद्यान नाम गरेको किताब बजारमा ल्याएको छ । ३७ वर्षको शिक्षण पेशाको अनुभवलाई ईलाम देउमाइका पूर्व प्रधानअध्यापक श्री खडा नन्द अधिकारीले बालउद्यान नामक पुस्तक तयार पार्नुभएको हो ।
बाल अधिकार सुनिश्चत गर्न अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेको बाल अधिकार महासन्धी होस् वा बाल अधिकार अभिसन्धी होऊन्, प्रमुख उद्देश्य भनेको उनीहरूको विकास नै हो ।

किताबको बारेमा प्रा.डा. मनप्रसाद वाग्ले लेख्नुहुन्छ, ‘‘बालबालिकाको स्वतन्त्रता, उनीहरूको जिज्ञासा, प्रकृतिसँगको उनीहरूको सामीप्य, बाल सिर्जना, बालबालिकामा उत्पन्न हुने भय र तिनका कारण, बालबालिकाको मनोवैज्ञानिक अवस्था र दैनन्दीन रूपमा उनीहरूमाथि गर्नुपर्ने निगरानीलाई समेत विस्तृत व्याख्या हुनु नै यो पुस्तकको विशेषता हो । बालबालिका सन्दर्भमा सवैलाई शिक्षित तुल्याउने गिजुभाई लाई उहाँले धेरै ठाउँमा साभार गर्नु भएको छ । सामाजिक, धार्मिक, पारम्परिक र मनोवैज्ञानिक पक्षको मिश्रण गर्न सफल यो पुस्तक हाम्रो जस्तो देशको लागि अत्यन्त उपयोगी सावित हुनेछ । त्यस्तै हाम्रा गलत परम्परा र बालबालिकाको हिंसामा उहाँले विशेष चासो राख्नुभएकोले बालबालिकाको सामाजिक रूपान्तरणमा समेत यो पुस्तक उपयोगी हुनेछ ।’’

प्रा.डा. विद्यानाथ कोइलाका अनुसार, ‘‘पुर्खाले बालबालिकाको पठनपाठन कसरी गरे ? गराए ? पश्चिमाले कसरी गर भने ? मनोविदले के गर्नुपर्छ भने ? शिक्षाविदले के भने ? लेखकको शिक्षकीय अनुभवले के गर्नुपर्छ भन्योे ? यी र यस्ता हर प्रश्नका उत्तर छन् पुस्तकमा ।’’

सरल भाषामा सबैले बुझ्ने गरी लेखिएको यो पुस्तकभित्र बालबालिकाको विकास, सम्भावना, उनीहरूलाई दिनुपर्ने प्रेरणा, उनीहरूका सकस, बालबालिका प्रति अभिभावकको दायित्व, बाल जिज्ञासा, बालबालिकाका समस्या र समाधान, जस्ता यति धेरै विषयवस्तु समेटिएका छन् कि यी सबै कुरा बुझ्न हामीले दर्जनौं पुस्तक पढ्नु पर्ने हुन्छ । शिखा बुक्सले बजारमा ल्याएको उक्त पुस्तकको मूल्य ३५० रहेको छ ।

Leave a Reply