सभ्य समाज निर्माणमा विद्यार्थी
पुष्प बिष्ट ” गोर्खाली “
मानिस चेतनशील र विवेकशील प्राणी हो । उसमा चेतना र विवेकजस्ता अलौकिक गुणहरु भएकाले नै ऊ अरु प्राणीभन्दा माथि उठ्न सफल भएको छ । यस्ता चेतनाले युक्त मानिस पशुजस्तै जंगलमा भिन्न र अलग्गिएर बस्न सक्दैन । त्यसैले, सबै मानिसहरु एउटा सीमित परिवेशमा मिलेर बस्ने गर्छन्, जसलाई हामी समाज भन्छौँ । वास्तवमा मानिस एक सामाजिक प्राणी हो, यस कारणले ऊ समाजभन्दा भिन्न भएर आफ्नो जीवनयापन गर्न सक्दैन ।
बर्बरता, स्वार्थी प्रवृत्ति आदि जस्ता गुण भएका मानिसहरु बस्ने समाज कहिल्यै सभ्य हुन सक्दैन । वास्तवमा, सभ्य समाज भनेको कुनै पनि सामाजिक विकृति नभएको र सबै मानिस चेतनशील भएको एवम् मर्यादित समाज हो । असभ्य समाजलाई सभ्य पार्नु नै आजको आवश्यकता र चुनौती हो । समाजलाई कुशल पार्न कोही न कोही लाग्नुपर्छ । यसको नवनिर्माण हुनुपर्छ, तबमात्र समाजले नयाँ मुहार फेर्न सक्छ र अन्ततः सारा देश नै उज्ज्वल बन्न सक्छ । समाजमा रहेका आन्तरिक समस्या, हिंसा, चोरी, डकैती, दुष्कर्म, बलात्कारजस्ता कामलाई उन्मूलन गरी यसलाई निर्मूल पार्नु नै आजको आवश्यकता हो । मानिसहरुको व्यवहार एकै छैनन् । कोही असल छन् भने कोही खराब छन् । राम–राम भन्ने मानिस पनि हाम्रै समाजमा छन् र राम–राम भनी बगलीमा छुरी घोप्ने मानिस पनि हाम्रै समाजका हुन् । त्यसैले, सभ्य समाज निर्माण गर्नु कुनै चानचुने कुरा होइन । अथक परिश्रम, मिहेनत र लगनशीलताले नै समाजलाई नयाँ रुप दिन सक्छ ।
विद्यार्थी शब्दले विद्या आर्जन गर्ने व्यक्तिलाई बुझाउँछ । पहिले–पहिले विद्यार्थीको अर्थ आफ्नो गुरूकोमा गएर ज्ञान आर्जन गर्ने व्यक्तिलाई भनिन्थ्यो, तर समयको गतिशीलतासँगै यसको अर्थ पनि विस्तृत भएर खारिएको छ । अहिलेको सन्दर्भमा विद्यार्थी भन्नाले कुनै पनि शिक्षण संस्था अथवा विश्वविद्यालयमा गएर ज्ञान आर्जन गर्ने व्यक्ति भन्ने बुझिन्छ । वास्तवमा विद्यार्थीहरुबाट नै हाम्रो समाजले नयाँ रुप लिन सक्छ र यसले आफ्नो काँचुली फेर्छ । विद्यार्थी नै समाज निर्माणका सबल हतियार हुन् । देशका कर्णधारका रुपमा चिनिने विद्यार्थीले नै मक्किएको समाजका खम्बालाई बलियो पार्न सक्छन् र चुहिएका छानालाई टाल्न सक्छन् । आत्मविश्वास, धैर्य, ज्ञानी र विवेकशील एवम् स्वाभिमानी विद्यार्थीले नै सभ्य समाज निर्माणको महान् यज्ञमा जुटेर ठूलो र मह¤वपूर्ण भूमिका खेल्न सक्छन् ।
जसरी कमलको फूलबिना एउटा तलाउ सुन्दर देखिँदैन, त्यसरी नै विद्यार्थीको अथक परिश्रमबाट समाजले आफूलाई सिंगार्न सक्दैन । वास्तवमा समाज शिक्षित भएरमात्र त्यो सभ्य बन्न सक्छ र विद्यार्थीले असभ्य समाजमा रहेका खोटलाई खारेर सभ्य समाज बनाउन सक्छ । विद्यार्थी एक चेतनशील वर्गको दर्जामा पर्ने हुनाले उसले समाजका हरेक मानिसलाई शिक्षित बनाउन आवश्यक देखिन्छ । उनीहरु समाजका हरेक मानिसलाई शिक्षा प्रदान गर्ने कार्यमा तत्पर हुनु जरूरी छ । हाम्रो समाजमा अल्पसंख्यक मानिसहरु मात्र शिक्षित छन् । उनीहरुमा चेतनाको दीप बाल्न विद्यार्थीहरु सक्रिय हुनुपर्छ, किनभने कुनै पनि क्षेत्रको सुधार गर्नुछ भने शिक्षा नै त्यसको पहिलो सर्त हो । विद्यार्थीले समाजमा विद्यमान रहेका विकृतिहरुलाई निर्मूल गरी शिक्षालाई उजागर गर्न सक्छन् । समाज सुधार गरी उनीहरुमा चेतना पैmलाउने काम गर्न सकियो भने के सभ्य समाजको निर्माण सम्भव छैन र ?
समाजलाई अशान्ति, हल्ला, बर्बरता, भाँडभैलोतर्फ उन्मुख गर्ने व्यक्तिहरुलाई सजाय दिन विद्यार्थी वर्ग नै सक्रिय हुन सक्छन् । उनीहरुले समाजमा कुनै विकृति, विसंगति देखेमा व्यक्तिका तर्फबाट त्यसलाई सुधार्ने काम गर्न सक्छन् । समाजमा सर्प बनेर समाजको नवनिर्माणमा बाधा, अवरोध पु¥याइरहेका मानिसहरुलाई विद्यार्थीले शिक्षाका माध्यमबाट बदल्न सक्छन् । पुलिसहरुको सहयोग लिएर त्यस्ता अपराधीहरुलाई सजाय दिन विद्यार्थी पछि पर्नुहुँदैन । हाम्रा समाजमा ठूलाबडा मानिसहरु छन्, जसका कारण नै समाज निष्क्रियतातर्फ धकेलिएको छ । उनीहरु समाजका निमुखा मानिसलाई थिचोमिचो गरी आफू सधैँ सुख र सयलमा जिउन चाहन्छन् । विद्यार्थीले समाजमा रहेका त्यस्ता मानिसहरुको पर्दाफास गरी समाजलाई त्यस्ता विषयुक्त सर्पहरुबाट मुक्त गर्न सक्नुपर्छ । विभिन्न खराब लत लिएर बसेका मानिसहरुलाई विद्यार्थीहरुले प्रथमतः त्यस्ता खराब लत छोड्न र नवनिर्माणको कार्यमा लाग्न चेतना जगाउन सक्छन् ।
आदर्श समाज निर्माण गर्न विद्यार्थीहरुले आफ्नो व्यक्तिगत प्रयासबाट समाजमा रहेको अशिष्ट, अभद्र, अन्धविश्वास आदिलाई हटाएर शिष्ट, शालीन, समानता आदि निर्माण गर्न सक्नुपर्छ । समाजमा रहेका कालाबजारी, नराम्रो विकृति र परापूर्व कालदेखि चल्दै आएका अन्धविश्वासलाई घटाएर त्यसलाई निर्मूल नै बनाउने काम गर्नुपर्छ । त्यस्तै, समाजमा विभिन्न विकासका कार्यहरु ओझेलमा परेका छन् । नवनिर्माणका कामहरु हुन नसकेकाले हाम्रो देशको अधिकतम समाज अन्धकारमा रूमल्लिएका छन् । उनीहरुले समाजमा बस्ने मानिसहरुलाई विकासका कार्यमा संलग्न गराउन सक्छन् । सबै मानिसहरु हातेमालो गर्दै सुधारका कार्यमा अगाडि बढ्न जरूरी छ । त्यसमा विद्यार्थीहरु नै प्रेरणाका स्रोत बन्न सक्छन् । उनीहरुले महिला सशक्तीकरण कार्यमा समेत विचार पु¥याएर महिलाहरुलाई पनि निर्माण कार्यमा लाग्ने सुअवसर दिनुपर्छ । त्यस्तै, सधैँ विद्यार्थीले सभ्य समाज निर्माण गर्ने बाटोलाई वरण गरी त्यहाँका कुप्रवृत्तिलाई जरैदेखि निर्मूल पारी चौतर्फी विकासको तीर फाल्न सक्छन् ।
समाज निर्माणको सागरमा डुबुल्की मारेर विद्यार्थीले आफ्नो दायित्व पूरा गर्नुपर्छ । त्याग गर्न सक्नु विद्यार्थीको ठूलो गुण हो । त्यसैले, उनीहरुले मानिसहरुलाई विकास निर्माणका कार्यमा उन्मुख गराउने समाजका अवस्थाहरुमा प्रतिबन्ध लगाई समाजलाई शिष्ट, शालीन बनाउने र भातृत्वको चेतना फैलाउने, रुढीवादी चिन्तन बोकेका मानिसलाई चेतनशील बनाउने र अन्धविश्वासलाई हटाई समाजलाई स्थापित गर्न सक्नुपर्छ । आफ्नो देश र समाजलाई सुधार गर्न सधैँ तत्पर हुनुपर्छ विद्यार्थी, किनभने आफ्नो समाजप्रति केही पूरा गर्नुपर्ने दायित्व हुन्छन्, जसलाई विद्यार्थीहरुले मनन् गर्न जरूरी छ ।
तसर्थ, निर्माणका कार्य र विद्यार्थीबीच अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । आजको हाम्रो समाजलाई परिवर्तन गर्न विद्यार्थी वर्ग नै लाग्नुपर्छ । आफ्नो सीप, दक्षतालाई उनीहरुले नवनिर्माणका काममा लगाउनुपर्छ । समाजमा रहेका अन्याय, बर्बरता, असभ्यता तथा अन्य विकृति रोक्नलाई विद्यार्थीले जोड दिन आवश्यक छ । समाजलाई पथप्रदर्शकको काम गरी उनीहरुले समाजलाई नयाँ गति अनि नौलो जोस, जाँगर र हौसला प्रदान गर्न सक्छन् । अन्ततः अशिक्षित र असभ्य मानिसहरुको बोलबाला रहेको हुँदा अभद्र बन्न पुगेको हाम्रो समाज पछि एक शिक्षित र सभ्य समाजमा परिवर्तन हुन सक्छ ।
त्यसैले, अन्तिममा कविताका
चार हरफमार्फत यो कुरालाई चरितार्थ गर्न चाहन्छु ः
विद्यार्थी नै हुन्
समाजका कर्णधार
जराबाट हुन्छ सारा राष्ट्र
र, समाजको नवनिर्माण ।
पुष्प बिष्ट
कमलबजार नगरपालिका वडा. न. १० घोडासैन “तान्ति” अछाम ।