प्रहरी हिरासतबाट छुटेपछि कांग्रेस सांसद शर्माले भने- गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

प्रहरी हिरासतबाट छुटेपछि कांग्रेस सांसद शर्माले भने- गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनिल शर्मा थुनामुक्त भएका छन्। जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएपछि सिआईबीको हिरासतमा रहेका सांसद शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन्।

थुनामुक्त भएपछि सांसद शर्माले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। उनले तत्काल राजीनामा नदिए सरकार ढल्ने चेतावनीसमेत दिएका हुन्। ‘गृहमन्त्री तुरुन्त हट्नुपर्छ। उहाँ हट्नुभएन भने सरकार ढल्छ,’ उनले भने।

सुन तस्करी प्रकरणका संरक्षकहरूलाई कारबाही गर्ने आवाज उठाएपछि प्रधानमन्त्रीकै निर्देशनमा आफू पक्राउ परेको उनको भनाइ छ। ‘प्रधानमन्त्रीकै निर्देशनमा मलाई पक्राउ गरिएको हो। प्रधानमन्त्रीजी यति धेरै बैगुनी हुन भएन,’ उनले भने, ‘शान्ति प्रक्रियाका लागि हाम्रो पहलकदमी पनि ठूलो छ। त्यो प्रधानमन्त्रीजीले बुझ्नुपर्छ। गिरिजाप्रसाद कोइरालासँग टेलिफोन सम्बाद गराउने नै हामी हौं,’ उनले भने।

उनले कांग्रेस नेताहरूलाई पनि गठबन्धनबारे पुनर्विचार गर्न आग्रह गरे। ‘कांग्रेसले पनि यो गठबन्धनबारे पुनर्विचार गर्नुपर्छ। नत्र पार्टी सकिन्छ,’ उनले भने। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाँणले पनि बाहिर बसेरै न्यायको लागि लड्न पाउनुपर्ने बताए। उनले खाँण भगौडा नभएको भन्दै उनलाई बाहिरबाटै कानुनी लडाइ लड्न दिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *