राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन बेलायत भ्रमणको तयारीमा राष्ट्रपति पौडेल

राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन बेलायत भ्रमणको तयारीमा राष्ट्रपति पौडेल

लन्डन — नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण तयारी भइरहेको छ । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिखमा लन्डनस्थित वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन आउन लागेका हुन् ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमणको तयारी हो । नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि बेलायत भ्रमण हुन लागेको हो ।

यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि तत्कालीन राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए । नेपालका 
राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी कसैको पनि बेलायत भ्रमण भएन ।

स्रोतका अनुसार उनको भ्रमणबारे लन्डनस्थित नेपाली दूतावासले पनि आफ्नो तरिकाबाट तयारी थालेको छ । तर, भ्रमण तालिका सार्वजनिक हुन भने बाँकी नै छ । मे ५ मा रिसेप्सन र ६ मेमा मुख्य कार्यक्रम हुने भएकाले सोहीअनुसार भ्रमण तय हुने अपेक्षा गरिएको छ ।

राष्ट्रपति कार्यालयस्थित उच्च स्रोतका अनुसार पनि राष्ट्रपति पौडेल राजा चार्ल्स तृतीयको राज्याभिषेकका लागि बेलायत भ्रमण गर्ने तय भए पनि जाने र फर्कने मिति टुंगिइसकेको छैन । त्यसका लागि आवश्यक पूर्वतयारी भने भइरहेको छ ।

पौडेलले बेलायतमा रहँदा नेपाली समुदायलाई पनि भेटघाट गर्ने अपेक्षा गरिएको छ । उनका छोरा बुहारी बेलायतमै छन् । बकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झण्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा विश्‍वभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ ।

आफ्ना पिताको राज्याभिषेकमा राजकुमार ह्यारी आउने पक्का भए पनि उनकी श्रीमती मेघन मर्केल नआउने भएकी छन् । बकिङ्घम दरबारले ड्युक अफ ससेक्स उपस्थित हुने तर उनकी पत्नी डचेस अफ ससेक्स सहभागी नहुने पुष्टि गरेको छ ।

बेलायतमा ७ दशकपछि राज्याभिषेकको तयारी द्रूत गतिमा भइरहेको छ । वेष्टमिनिष्टर आब्बेमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएको छ । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउने छिन् ।

राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ मा पहिरिएकी थिइन् । विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा दर्ज भएको छ ।

राजा चार्ल्सले राजमुकुट लगाउने समारोह उनकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समारोहभन्दा सात गुणा छोटो हुनेछ ।

महारानी एलिजावेथको राज्याभिषेक समारोह करिब तीन घण्टा चलेको थियो भने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१ देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए ।

यसपटक आमन्त्रित संख्या पनि कम छ । समारोहमा ६ हजार बढी आर्मर्ड फोर्सेस् सदस्यले भाग लिनेछन् ।राजा चार्ल्सको राज्याभिषेक करिब एक घण्टा चल्ने बेलायती अखबारले जनाएका छन् । उक्त समारोहको खर्च करिब १०० मिलियन पाउण्ड हुने आंकलन छ ।

विविध सांस्कृतिक कार्यक्रमका साथ धुमधामसँग मनाइने राज्याभिषेकको उपलक्ष्यमा बेलायतमा एक दिन मे ८ मा सार्वजनिक बिदा दिइएको छ ।

Leave a Reply