राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं,१३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण गर्दै उहाँले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्ने बताउनुभयो ।

“जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दुःख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व थिए ”, उनले भने । राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक सङ्गठन, जोशी परिवार र आफ्नो लागि अपूरणीय क्षति भएको बताउनुभयो ।

जोशीको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारण होनहार नेताका रुपमा स्थापित हुनुका साथै सरल, शालिन, मिलनसार, सहयोगी र कुशल राजनीतिज्ञको छवि बनाउन सफल भएको पौडेलले चार्चा गर्नुभयो । जोशीको शालिक निर्माणले उनले देश र जनताका लागि पुर्याएको योगदानलाई सदैव जीवन्त राख्ने तथा असल र इमान्दार एउटा राजनीतिज्ञको व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन र उनीहरुलाई सत्कार्य गर्न सँंधै प्रेरित गर्ने बताउनुभयो ।

यस्तो छ वक्तव्यको पूर्णपाठ

कार्यक्रमका सभापति जी,
माननीय प्रकाशमान सिंह,
माननीय गगनकुमार थापा,
माननीय एवं स्व नविन्द्र की धर्मपत्नी सपना राजभण्डारी,
माननीय विराज भक्त श्रेष्ठ
एवं यस कायक्रममा उपस्थित परिवारजन र महानुभावहरु
सर्वप्रथम पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नु भएकोमा यस कार्यक्रमका आयोजक, शालिक निर्माण समिति एंव प्रतिनिधिसभा सदस्य सपना राजभण्डारीप्रति धन्यवाद प्रकट गर्न चाहन्छु ।
आफ्नो राजनीतिक विचार र आस्थाप्रति सँंधै इमान्दार र निष्ठावान भई त्यसैका माध्यमबाट नेपाली जनता, समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि जीवनभर एउटा इमान्दार सिपाहींको रुपमा काम गर्दा गर्दै असामयिक मृत्युवरण गर्नुभएका पूर्वमन्त्री नविन्द्रराज जोशीप्रति म यस घडीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । जोशीको शालिक निर्माणले उहाँले देश र जनताका लागि पु¥याउनुभएको योगदानलाई सदैव जीवन्त राख्नेछ । साथै, असल र इमान्दार एउटा राजनीतिज्ञको व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिन तथा उनीहरुलाई सत्कार्य गर्न सँंधै प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

मैले नविन्द्रलाई सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रुपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँं । स्वतन्त्र विद्यार्थी आन्दोलनको गर्भबाट भर्भराउँदो र कलकलाउँदो मुना बनेर निस्केको नवीन्द्रको व्यक्तित्व शिक्षाका साथै विद्यार्थी संगठनको माथिल्लो नेतृत्व, महानगरपालिकाको उपप्रमुख, संविधानसभा सदस्य, सांसद र मन्त्रीका साथै गणेशमान सिंह अध्ययन प्रतिष्ठानको संस्थापक अध्यक्षजस्ता कैयांै सामाजिक संस्थाको आवद्धतासँगै राष्ट्रिय रुपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि सदैव प्रेरणादायी छ भन्ने मलाई लाग्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्भिक र निष्ठावान युवा नेताको नाम थियो नविन्द्रराज जोशी । हाम्रो समाजमा र खासगरी राजनीतिमा सदाचारको खडेरी पर्न थालेको हो कि भनेर चिन्ता प्रकट भइरहँंदा नविन्द्रले विभिन्न ओहोदा, पद र संस्थामा रहँदा आफ्नो चरित्रमा कतै दाग लाग्न दिएनन् । उनको यो छवि सदाचारी तथा आदर्श राजनीति चाहने जो कोहीका लागि आशाको दियो हो । नवीन्द्रको अनुकरणीय विशेषता योग्यता मात्र थिएन । आचरणशील र इमान्दारी पनि उनका अनुकरणीय विशेषता हुन् ।

योग्यता, आचरणशील र इमान्दारी यी तीनै कुराको बराबरी संगम रहेका विरलै मानिसमध्ये नवीन अब्बल दर्जामा थिए । नविन्द्रको निष्ठा, प्रगतिशील दृष्टिकोण र सही कुराको पक्षमा दृढ रहने अडानका कारणले नवीन्द्र एक होनहार नेताका रुपमा देखिएका थिए । सरल, शालीन, मिलनसार, सहयोगी कुशल राजनीतिज्ञको छवि उनको पहिचान थियो ।

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ । जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नविन्द्र यही दर्शनबाट प्रभावित थिए ।

नविन्द्रको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीति, संगठन, जोशी परिवार र मेरा लागि पनि अपुरणीय क्षतिको रुपमा रहेको मैले महसुस गरेको छु । मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा उहाँंले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसाथ गरेर यसकोसंस्थागत विकासमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत रहीरहनेछ । धन्यवाद ।।

www.deshkoaawaj.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *