शेखर कोइरालाको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी, यस्तो छ मन्त्री बन्नेको सूची

शेखर कोइरालाको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी, यस्तो छ मन्त्री बन्नेको सूची

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा.शेखर कोइरालाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ ।

कांग्रेसले पहिले एमालेले पाएका नौ मन्त्रायलयमा दाबी गरेको छ । तर भागबन्डा मिलाउनुपर्ने भएकाले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालयले पाउने सम्भावना धेरै छ ।

कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले सरकारमा नजाने घोषणा गरिसकेकाले कोइरालाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने गृहकार्यमा सभापति शेरबहादुर देउवा जुटेको धुम्बाराही स्रोतले जनाएको छ ।

यदि उपसभापति खड्का उपप्रधानमन्त्रीसहित जाने भएमा डा.कोइराला मन्त्री नबन्ने भएका छन् । तर कांग्रेस नेताहरु खड्काले मन्त्री नबन्ने भनेको, उपप्रधानसहित शक्तिशाली मन्त्रालय पाए सरकारमा जान सक्ने बताउँछन् ।

कोइरालाले परराष्ट्र मन्त्रालयमा दाबी गरेका छन् । २०७४ सालमा पनि कोइराला परराष्ट्रमन्त्री बन्ने अन्तिम तयारीमा थिए ।

तर, तत्कालीन प्रधानमन्त्री देउवाले प्रकाशशरण महतलाई मन्त्री बनाएका थिए । यसपटक भने देउवा र शेखरबीच हार्दिक सम्बन्ध रहेकाले उनको सम्भावना धेरै रहेको बताइन्छ ।

कोइराला नेतृत्वमा कांग्रेस सरकारमा गएमा अर्थमन्त्री डा.प्रकाशशरण महत, उदयशमशेर राणा वा विनोद चौधरीमध्ये एक हुने छन् ।

अर्थमा ज्ञानेन्द्रबहादुर कार्कीले पनि दाबी गरेका छन् । तर उनको परफरमेन्स जिरो भएकाले उनको सम्भावना नभएको कांग्रेस नेताहरुको भनाइ छ ।

अहिले देशको अर्थतन्त्र बिग्रेकाले सक्षम अर्थमन्त्रीको खोजीमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा लागिपरेका छन् ।

अर्थमन्त्रीमा कांग्रेस महामन्त्री थापालाई देख्न चाहनेको संख्या धेरै छ । देउवा पत्नी आरजु राणाले पनि मन्त्री बन्ने चाहना व्यक्त गरेकी छन् ।

केही समयअघि आफू तत्काल मन्त्री नबन्ने बताएकी आरजुले ऊर्जा मन्त्रालयमा दाबी गरेको बुझिएको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एनपी साउदलाई मन्त्री बनाउने भएको छ ।

गृहमा दाबी गर्दै आएका साउदले उद्योग मन्त्रालय पाउने बताइन्छ । कांग्रेस केन्द्रीय सदस्य डा.शशांक कोइरालाले भने आफूलाई कृषिमन्त्री बनाउन सभापति देउवासँग लबिङ गरेको बुझिएको छ ।

अहिलेसम्म मन्त्री नभएका शशांक प्रचण्ड सरकारमै जाने भएका छन् । बागमती प्रदेशबाट उदयशमशेर राणा र मोहनबहादुर बस्नेतमध्ये एकजना मन्त्री बन्ने बुझिएको छ ।

दुवै देउवा निकट नेता हुन् । उदयशमशेर अर्थमन्त्री भएमा बस्नेत मन्त्री बन्न पाउने छैनन् । यदि राणाले अवसर नपाए बस्नेतलाई मन्त्री बनाउनुपर्ने लबिङ धेरै छ ।

पहिलोचोटि सांसद बनेका प्रदीप पौडेललाई मन्त्री बनाउन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लबिङ गरिरहेको स्रोतले बतायो ।

पछिल्लो समय पौडेल थापा र शर्मा निकट छन् । उनले काठमाडौं ५ बाट टिकट पाएर एमालेका ईश्वर पोखरेललाई हराएका थिए ।

उता, सहमहामन्त्री किशोरसिंह राठौरले पनि मन्त्रीको दाबी गरिरहेका छन् । सभापति देउवा भने विनोद चौधरी र राठौरमध्ये एकलाई मन्त्री बनाउने मनस्थितिमा रहेको बुझिएको छ ।

कोसी प्रदेशबाट सीता गुरुङ र डिगबहादुर लिम्बूमध्ये एकजना मन्त्री कन्फर्म रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *