गल्ती सच्याउँदै देउवा, आसेपासे छाडेर गगन–विश्वसँग पोल्टिकल डिस्कोर्स !

गल्ती सच्याउँदै देउवा, आसेपासे छाडेर गगन–विश्वसँग पोल्टिकल डिस्कोर्स !
काठमाडौं । ‘ओभर कन्फिडेन्स’ का कारण पोल्टाको सत्ता गुमेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला पार्टीभित्र रक्षात्मक बनेका छन् । केन्द्रीय समिति र संसदीय दलमा संख्याको बहुमत भएपनि देशभरका कांग्रेस कार्यकर्ताहरुको ठूलो हिस्सा यतिबेला देउवासँग रुष्ट छ ।

गठबन्धन सरकार निर्माणको गतिविधिलाई अतिगोप्य र केही व्यक्तिमा सीमित राखेका सभापति देउवा गठबन्धन जोगाउन असफल भएका थिए । पार्टीको औपचारिक बैठक वा जिम्मेवार पदाधिकारीलाई ‘इग्नोर’ गरेका कारण ठूलो मूल्य चुकाउन देउवा बाध्य भएका छन् । निर्वाचित महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई राजनीतिक संवाद र प्रक्रियामा भूमिका दिन तयार नदेखिएका देउवा अन्ततः गलेका छन् ।

सरकार निर्माण प्रक्रियामा विश्वास गरेका पात्रहरुको असफलता पछि देउवाले आफ्नो कमजोरी महसुस गरेका छन् । यहीकारण पछिल्लो पटक उनले ‘आसेपासे’ नभएर जिम्मेवार पदाधिकारीसँग छलफल थालेका छन् । शुक्रबार धुम्बाराहीस्थित निवासमा देउवाले उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरे । सो क्रममा देउवाले आफूबाट केही कमजोरी भएको स्वीकार पनि गरेका छन् ।                                ‘जे भयो भयो । बितेको कुरा नगरौं । अब कसरी अगाडि बढ्ने हो तपाईहरु सुझाउनुस्’, शुक्रबारको बैठकमा देउवाको भनाई थियो । उनले केही नेताहरुको विश्वास गर्दा आफूलाई धोका भएको भन्दै त्यसको जिम्मेवारी आफै लिने बताए । ‘मैले ट्रस्ट गरेको हो । अब कसलाई दोष दिने ?’,उनको भनाई थियो । देउवाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा कांग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । एमाले–माओवादी गठबन्धनविरुद्ध आफूले अराजनीतिक मुभ नगर्ने भन्दै सभापति देउवाले महामन्त्रीद्वय गगन र विश्वलाई संसदीय दल र केन्द्रीय समितिको तयारी गर्न निर्देशन दिए । कांग्रेस विधान अनुसार संसदीय दलका नेता देउवा नेतृत्वको संसदीय दल कार्यसमितिमा थापा र शर्मा पदेन सदस्य रहेका छन् ।

बैठकका दौरान अनौपचारिक रुपमा प्रस्तुत भएका सभापति देउवाले आगामि दिनमा महामन्त्री र सबै जिम्मेवार पदाधिकारीलाई समेटेर जाने बताएका थिए । कांग्रेसको आन्तरिक राजनीतिलाई नियाली रहेका एक विश्लेषक गठबन्धन जोगाउन असफल भएपछि सभापति देउवाले पार्टीभित्र स्वभाविक शक्तिमा रहेका महामन्त्रीद्वयलाई नचिढ्याउने नीति लिएको हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *