गठबन्धन १५ वर्ष सम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा

गठबन्धन १५ वर्ष सम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा

अछाम — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन १५ वर्षभन्दा बढी समय सम्म कायम रहने बताएका छन् । अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान र लोकतन्त्र रक्षा र स्थायित्व सहितको देश विकासका लागि गठबन्धन कायम रहने बताएका हुन् ।

‘संविधानको रक्षाका लागि हामीले पटक-पटक ओलीजीलाई सम्झायौं, उहाँले मान्नु भएन, संसद् विघटन गर्नुभयो । ओलीजीले आलोचना पनि सहन सक्नु भएन,’ प्रधानमन्त्री देउवाले भने, ‘बाध्य भएपछि बहुमत पुग्ने गरी अदालत गयौं । अदालतले ओलीजीलाई हटायो । अन्तमा मेरो नेतृत्वमा सबैको सहकार्यमा सरकार निर्माण भयो । अब संविधान रक्षा र स्थायित्वका लागि यो गठबन्धन १०/१५ वर्ष बढी टिक्छ । कम्तीमा ३/४ चुनावहरूमा यो गठबन्धन सहकार्य गर्छ । त्यसका लागि हाम्रा साझा उम्मेदवारले जित्न आवश्यक छ ।’

संविधानले महिलालाई ३३ प्रतिशत आरक्षण, दलित, जनजातिका अधिकार समेटेकाले यसको रक्षाका लागि नेपाली कांग्रेस अडिग रहेको बताए । अछामको चौरपाटी र मंगलसेनमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलाश लघु जलविद्युत् आयोजना, सेती लोकमार्ग, चिसापानी- जंगलघाट- मंगलसेन सडक खण्ड, रामारोश र खप्तड पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

चुनावी सभामा निर्वाचन क्षेत्र नम्बर-१ का सत्ता गठबन्धनका साझा उम्मेदवार समाजवादीका नेता शेरबहादुर कुँवर, प्रदेश-१ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का, प्रदेश-२ का उम्मेदवार माओवादी केन्द्रका नेता झपट साउद, प्रतिनिधिसभा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, प्रदेश-१ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता अक्कल रावल, प्रदेश-२ का उम्मेदवार कांग्रेसका नेता मानबहादुर रावलले चुनावीसभालाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *