प्रदर्शनकारीको ढुंगा लागेर १४ प्रहरी घाइते

प्रदर्शनकारीको ढुंगा लागेर १४ प्रहरी घाइते

अछाम। पञ्चदेवल विनायक-४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर अछाम सदरमुकाम म‌ंगलसेनमा आज भएको प्रदर्शनका क्रममा १४ प्रहरी घाइते भएका छन्।

शाहीको न्यायको लागि भन्दै कांग्रेस बाहेकका दलहरूले थालेको आन्दोलनका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर दुई प्रहरी निरीक्षाकसहित १४ प्रहरी घाइते भएका हुन्। प्रर्दशनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दा १४ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए।

घाइते हुनेमा ईन्द्रबहादुर थापा, धर्मबहादुर रोकाया, वीरजीत चँदारा, निर्मला ऐर, भोलानाथ शर्मा, प्रेमबहादुर धामीलगायत छन्। घाइतेमध्ये ६ जनाको हात र खुट्टाको हड्डि भाँचिएकाले प्लास्टर गरिएको विष्टले जानकारी दिए। केही घाइतेको एक्सरे रिपोर्ट आउन बाँकी रहेको उनले बताए। घाइतेको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको छ। अदालत र सरकारी वकिल कार्यालयमासमेत ढुंगामुढा प्रहार भएपछि प्रहरीले बल प्रयोग गरेको अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले बताए।

गत जेठ १७ गते बेपत्ता भएका विनोद २१ गते मृत अवस्थामा भेटिएका थिए। सोमबार घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले अदालमा पेश गर्ने तयारी गरेकोमा प्रदर्शनकारीको आन्दोलनका कारण पेश हुन नसकेको बुझिएको छ।

मृतकका आफन्तले घटनामा संलग्न रहेको भन्दै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित १३ जनाका नाममा किटानी जाहेरी दर्ता गरेका थिए। मेयर अम्बिका प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने भन्दै शनिबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो।

आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ। बाँकी सात जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। शाहीको न्यायको लागि भन्दै नेपाली कांग्रेसबाहेकका पाँच राजनीतिक दलले आइतबार र सोमबार दुई दिन जिल्लामा चक्काजाम गरेका थिए।   mulukpress.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *