प्रधानमन्त्री देउवाद्वारा प्रेस युनियनका अध्यक्ष सिग्देललाई बधाई

प्रधानमन्त्री देउवाद्वारा प्रेस युनियनका अध्यक्ष सिग्देललाई बधाई

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर  देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले उहाँलाई बधाई तथा शुभकामना दिँदै नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुशीको कुरा हो भन्नुभयो ।

साथै, उहाँले सरकार सञ्चारकर्मीलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण ग्यारेण्टीका लागि सधैँ तयार रहेको विश्वाससमेत दिलाउनुभयो । अध्यक्ष सिग्देलले आइएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउँदै नेपाली श्रमजीवी पत्रकारको हकहितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो ।

युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा हालै सम्पन्न आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाबाट कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो । आजै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि उहाँलाई बधाई दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *