टिकट वितरणमा आर्थिक चलखेल भयो, चुनावपछि समीक्षा हुनेछ : शेखर कोइराला

टिकट वितरणमा आर्थिक चलखेल भयो, चुनावपछि समीक्षा हुनेछ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले पनि कांग्रेसभित्र प्रतिवद्ध कार्यकर्तालाई पछि पार्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।”

उनले चुनावपछि यसको समीक्षा हुने बताएका छन् ।

यस्तो छ शेखर कोइरालाले जारी गरेको विज्ञप्ति                                                                                       प्रेस विज्ञप्ति
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि उत्साह र उल्लासपूर्ण वातावरणमा देशभरि उम्मेदवारी दिने काम सम्पन्न भयो ।
पाँचवर्ष पछि आउने यो महायज्ञमार्फत नेपालको लोकतान्त्रिक आन्दोलन गाउँघरमा पुग्दछ । हामी निर्वाचनको प्रक्रियामा संलग्न सबै पक्ष नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नुपर्छ भनी सदैव सचेत र सतर्क रहनुपर्छ ।  
नेपाली कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरुको पंक्ति लामो थियो । अधिकांश योग्य र सक्षम पनि थिए । कांग्रेस देशको सबैभन्दा पुरानो र एकमात्र लोकतान्त्रिक पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा टिकट वितरण कार्य सहज थिएन ।                              टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन । 
अहिले म साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दैछु, टिकट वितरणलाई लिएर । जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरुलाई कांग्रेसको मुल प्रबाहमा फर्कन म आग्रह गर्दछु । त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन ।
सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ । साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु । पार्टी भित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु । हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर पनि हामी लड्छाँ । र अन्तत : जित सत्य र न्यायको हुन्छ । हामी निरास हुने छैनौँ ।
अहिले हामी सबै मिलेर निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नु परेको छ । स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरुलाई म विश्वस्त पार्न चाहन्छु । निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं । साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु ।
कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचन पछि पार्टी भित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिनेछ । सोही अनुरुप पार्टी सुधारको प्रकृयामा म साथीहरुसँग दृढताको साथ उभिने छु ।  
  अन्तमा, कांग्रेस पार्टीको बिभिन्न तहका साथीहरु, भातृ तथा शुभेच्छुक संगठनहरुलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन म जोडदार अपिल गर्दछु । जय नेपाल ।
डा शेखर कोइराला
२०७९ बैशाख १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *