राप्रपाको एकता महाधिवेशन, कसले मार्ला बाजी ?

राप्रपाको एकता महाधिवेशन, कसले मार्ला बाजी ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेकाे दशाैँ महाधिवेशनकाे राैनक सकिएकाे केहीदिनमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनले सबैकाे ध्यान खिचेकाे छ । नेकपा एमालेपछि  राप्रपाको नयाँ नेतृत्वमा कसले बाजी मार्छ भन्ने कुराले सबैमा काैतुहलता छाएकाे छ ।

राप्रपाकाे नयाँ नेतृत्व चयनको प्रक्रिया आज  (बिहीबार)देखि सुरु हुँदै छ । एकता महाधिवेशनमा नेतृत्वका लागि पार्टी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् ।  दोस्रो पुस्ताका नेता लिङदेनको उम्मेदारीले जारि महाधिवेशनलाई निकै रोचक बनाइदिएको छ । राजेन्द्र लिङदेनलाई  राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन् भने अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने कतै खुलेका छैनन् ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा  देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेका छन्  । महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ ।

को हुन् राजेन्द्र लिङ्देन ?
२०७४ को निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गरेर राष्ट्रिय राजनीतिमा हलचल मच्चाएका  राजेन्द्र लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देनले २०३९ सालदेखि राजनीतिक यात्रा शुभारम्भ गरेका हुन् ।

राप्रपाको विद्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’को संस्थापक अध्यक्ष समेत हुन् । लिङदेनले २०४९ र २०५४ सालको चुनावमा उनको चुनावी क्षेत्रमा गोलधापमा वडाध्यक्ष विजयी भइ वडाध्यक्षको सफल कार्यभार सम्हालेका थिए । २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समते बनेका लिङदेन २०५६ सालको संसदिय चुनावमा चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो स्थानको मत पाएका लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजयलाई आत्मसात गर्नु परेको थियो । उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए । उनै लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै यतिबेला चर्चाको शिखरमा छन् । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री भएका हुन् ।

यस्तै राजनीतिक यात्रा गर्दै जाँदा लिङदेन २०७४ को निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *