एमाले महाधिवेशनकाे मतदानमा ३९ प्रतिनिधि अनुपस्थित

एमाले महाधिवेशनकाे मतदानमा ३९ प्रतिनिधि अनुपस्थित

काठमाडौँ:  नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदानमा  २१५३ मतदातामध्ये २११४ जनाले मात्रै मतदान गरेका हुन् ।

मंगलबार बिहान ४ बजे सुरु भएको मतदान प्रक्रिया केही बेरअघि सम्पन्न भएको हो । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि ४ बजेलाई सरेको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार करिब ३ घण्टामा पूर्ण नतिजा आइसक्ने छ ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा र विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *