महाकाली तुइन प्रकरणः एसएसबीलाई कारवाही गर्न छानबिन समितिको सिफारिस

महाकाली तुइन प्रकरणः एसएसबीलाई कारवाही गर्न छानबिन समितिको सिफारिस

दार्चुलामा तुइनबाट नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेको घ’टनामा भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो ।

जयसिंह धामी बेपत्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै संलग्नता रहेको र दोषीलाइ कडा कारबाही गर्न गठित छानबिन समितिले सिफारिस गरेको छ । मंगलबार सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर समितिले प्रतिवेदन बुझाउँदै घटनामा एसएसबीको संलग्न रहेको र दोषीलाई कारवाही गर्न सिफारिस गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँडलाई प्रतिवेदन बुझाँउदै छानविन समितिका संयोजक जनार्दन गौतम

प्रतिवदेनमा भनिएको छ, ‘उक्त घटना भारतीय एस.एस.बी.का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धनमा अनुुसन्धान गरी दोषी उपर कारवाही गर्न र जय सिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षा दीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’

घटनाबारे छानबिन गर्न सह–सचिव गौतम नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । साउन १७ मा गठन गरिएको समितिलाई गृह मन्त्रालयले १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । समितिले स्थलगत अनुसन्धान गरेर मंगलबार प्रतिवेदन बुझाएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी हालसम्म बेपत्ता छन् । बेपत्ता भएपछि उनको खोजी गरिए पनि उनी भेटिएका थिएनन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार महाकाली नदी तर्न लाग्दा एसएसबीले तुइन काटिदिएपछि उनी महाकाली भेलसँगै बगेका थिए ।

तर, भारतीय पक्षले भने दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नरहेको स्पष्टीकरण दिएको छ ।  त्यसपछि घटनाबारे सत्यतथ्य छानविन गर्न गठित समितिले घटनामा एसएसबीको संलग्न रहेकाले दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *