तिहारको दोस्रो दिन : कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै

तिहारको दोस्रो दिन : कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै

आज तिहारको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन  मनाइँदै छ ।  कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेकोले बिहान कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा मनाइँदैछ ।

सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।  आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ ।

लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *