‘रोईकराई हात जोड्दा पनि दन्किरहेको आगोमा हालिदिए’

‘रोईकराई हात जोड्दा पनि दन्किरहेको आगोमा हालिदिए’
तस्वीर : सामाजिक सञ्जाल

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी कर्मचारी शारदा भट्टराईको स्कूटर जलाएका छन् ।

शुक्रबार (हिजो) आन्दोलनकारीहरुले भट्र्टराई चढ्ने सेतो नम्बर प्लेटको लु १ ब २४७० को स्कुटरलाई भष्म पारिदिएका हुन् । उनी रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी कर्मचारी हुन् ।

शिक्षा शाखाकी अधिकृत रहेकी भट्टराई नयाँ पाठ्युपुस्तक समायोजनको कामको लागि बुटवल आएकी थिइन् । तर, उनी आफ्नै स्कुटरमा घर फर्कन भने पाइनन् । स्कूटरको डिकीमा रहेको आफ्नो मोबाइल, पर्स, कागजात तथा छोराका लुगासमेत निकाल्न नपाएकोमा उनलाई निकै दुःख लागेको छ ।

उनले सडकमा प्रदेश राजधानी प्रस्तावविरुद्ध प्रदर्शन भइरहेको थाहै नपाएकी बताएकी छन् । तर, साँझ पौने ६ बजे काम सकाएर घर फर्किने क्रममा मात्र प्रदर्शन भइरहेको थाहा पाएकी उनले बताइन् ।

बुटवल–११, देवीनगर हुँदै घर गइरहेकधो समयमा होराइजन चोकमा भीड रहेको र उक्त ठाउँमा टायर बालिएको उनले बताइन ।

साथै टायर बालिएको ठाउँबाट चार/पाँच जना आएर आफूलाई स्कुटरबाट झर्न लगाएको र आफू नगरपालिकाको कर्मचारी रहेको भन्दा पनि केही नसुनिकन स्कूटरलाई जलाएको उनले गुनासो पोखिन् ।

आफूले रोईकराई हात जोड्दा पनि स्कुटर लगेर दन्किरहेको आगोमा हालिदिएको उनले बताइन् । इलाका प्रहरी कार्यालय बुटवलले उक्त घटनामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ । न्युज २४  बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *