नेपालगञ्जको कलेज अफ अलाइडले गर्यो विद्यार्थीलाई अन्तिम परीक्षा दिनबाट बञ्चित

नेपालगञ्ज — कलेज अफ अलाइड, नेपालगञ्जले केही विद्यार्थीलाई वार्षिक अन्तिम परीक्षा दिनबाट रोक लगाएको गुनासो विद्यार्थीहरूले गरेका छन्। सामान्य चिकित्सा तेस्रो वर्षमा अध्ययनरत गिरिजा प्रसाद ओली र सिभिल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत बलरुप चदारा अन्तिम परीक्षा दिनबाट बञ्चित भएका हुन्।
विद्यार्थीहरूले थोरै शुल्क बाँकी भएको कारण देखाएर परीक्षा दिन नदिएकोमा कलेजप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। “घरमा समस्या भएकाले छिट्टै शुल्क बुझाउँछु भने पनि हामी सरकारी कलेज होइनौं, प्राइभेट हौं। Admit Card दिँदैनौं” भन्ने कलेज प्रशासनको भनाइले आफूहरूलाई मानसिक पीडा भएको विद्यार्थीहरूको आरोप छ।
यसबाहेक, प्राविधिक शिक्षाको नाममा CTEVT को पाठ्यक्रम अनुसार प्रयोगात्मक कक्षा कहिल्यै सञ्चालन नभएको गुनासो समेत विद्यार्थीहरूले गरेका छन्। ८० घण्टाको प्रायोगिक कक्षामध्ये जम्मा १० घण्टा मात्र लिएको अनुभव विद्यार्थीहरूले साझा गरेका छन्।
विद्यार्थीहरूले थप आरोप लगाउँदै भनेका छन्— “यही भवनमा चार वटा कलेज सञ्चालन भइरहेका छन् तर CTEVT को मापदण्डअनुसार शैक्षिक गतिविधि हुँदैन। कलेजको नामसमेत प्रष्ट नहुने स्थिति छ।”