नेकपामा फेरि टर्‍यो ओलीको संकट

नेकपामा फेरि टर्‍यो ओलीको संकट

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर कार्यदल गठन गरेसँगै ओलीको संकट टरेको हो ।

ओली र प्रचण्डले सहमति खोज्न शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । पौडेल नेतृत्वको कार्यदलममा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डबीच मोटो सहमति भएर नै कार्यदल गठन भएको देखिन्छ । ‘ओलीले प्रचण्डलाई अहिले कार्यकारी अध्यक्षको व्यवहारिक अभ्यास गर्न दिने र आसन्न महाधिवेशनपछि अध्यक्ष र आम चुनावपछि प्रधानमन्त्रीको बचान दिइएको छ’ स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच समझदारी भइसकेकाले कार्यदलले त्यसलाई औपचारिकता दिनेबाहेक थप केही गर्दैन होला ।’

यद्यपि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ प्रकाशसँग शनिबार भएको भेटमा प्रचण्डले कार्यदल बनाउने बाहेक थप सहमति नभएको बताए । कार्यदल गठनको निर्णय स्थायी कमिटी वा कम्तिमा सचिवालयबाट गर्नुपर्ने नेताहरुको रायमा ठीक भएको प्रचण्डले समेत बताए ।

भेटमा वरिष्ठ नेता खनाल र नेपालले प्रचण्डको कार्यशैलीबारे असन्तुष्टि जनाएका थिए ।

Leave a Reply