निषेधाज्ञापछि सुनसान बन्यो भरतपुर महानगर

निषेधाज्ञापछि सुनसान बन्यो भरतपुर महानगर

शुक्रबार रातिदेखि जारी गरिएको निषेधाज्ञाका कारण भरतपुर महानगरपालिकामा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। नारायणगढ तथा भरतपुरका बजार पूर्णरूपमा बन्द छन् भने सडकमा सर्वसाधारणको उपस्थिति असाध्यै कम छ।

राजमार्ग तथा भित्री सडकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिन्छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएका छन्। उनीहरूले अत्यावश्यक सेवाका व्यक्तिहरूलाई पहिचान भएपछि मात्रै छोडेका छन्।

भरतपुर महानगर प्रवेश गर्ने नाकाहरूमा कडाइ गरिएको छ।

हिजोसम्म नारायणगढ बजारमा भीडभाड हुने गरेको थियो। आज सबै सटर बन्द छन्।

निषेधाज्ञा भरतपुर महानगरपालिकाको २९ वटा वडामा लागू गरिएको हो। निषेधाज्ञा भदौ ५ गते राति १२ बजेसम्म कायम रहनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को परिच्छेद ३, दफा ६ (क)को उपदफा (३) बमोजिम यहाँ निषेधाज्ञा जारी गरिएको हो।

आदेशको अवज्ञा गरिएमा कानुनानुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

निषेधाज्ञा उल्लंघन गरिए एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्नेछ ।

उक्त ऐनको परिच्छेद ३, दफा ६ (क)को उपदफा (३) मा भनिएको छ–‘कफ्र्यूको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नेछ र त्यसरी गिरफ्तार गरिएका व्यक्तिलाई तुरून्त प्रहरीले प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नु पर्नेछ । त्यसरी गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले उपयुक्त सम्झेको संक्षित कार्यविधि अपनाई एक महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ र उक्त सजायको आदेश उपर उच्च अदालतमा पुनरावेदन लाग्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *