रित्तिएको रिमा गाउँ — बाल्यकालको सम्झना, वर्तमानको पीडा र भविष्यको सपना

म गाउँ फर्कन्छु, तर गाउँ मलाई कहिले गाउँ जस्तो लाग्दैन।कहिलेकाहीँ जीवन त्यस्तो मोडमा आइपुग्छ जहाँ आफूले जन्मिएको, हुर्किएको र रमाएको ठाउँ तिनै आँखा अगाडि रहेर पनि अपरिचित लाग्छ। म मेरो पुर्ख्यौली गाउँ — ‘रिमा’ ढकारी गाउँपालिका–१, अछाम पुगेको थिएँ। आफ्नै गाउँ पुग्दा म भित्र उत्साह पनि थियो, तर त्योभन्दा गहिरो पीडा थियो। त्यो गाउँ जहाँ मैले बाल्यकाल बिताएँ, गोठालो गएँ, साथीहरूसँग हाँसेँ, खेलें त्यो गाउँ आज एक्लो, सुनसान र रित्तिएको जस्तो लाग्छ।
मैले बाटामा हिड्दा देँखे पहिलेका बाटाहरू उस्तै थिए, तर हिँड्ने मान्छे हराएका थिए। खेतहरू बाँझिएका थिए, गोठहरू खाली, बारीहरू जंगलले ओगटिसकेको, अनि पाखापखेरा सन्नाटा छाएको। रिमा मेरो संसार थियो। नजिकै रहेको बिश्वज्योती निम्न माध्यमिक (हाल: बिश्वज्योती आधारभुत) विद्यालयमा पढ्न जानु,बिदाको दिन बिहान घाम लाग्दै गर्दा बाख्रा र गाई लाउँदै गोठालो जानु, चाईराखोलामा पौडी खेल्नु, पाखामा घाँस दाउरा काट्नु, साँझ परेपछि अलिअलि डराउँदै घर फर्किनु, यी मेरा दिनचर्या थिए। हिउँदमा आगो ताप्दै हजुरआमालेे सुनाउने भूतका कथाहरू सुन्नु, बर्खामा चिप्लो बाटोमा लड्दै स्कूल जानु, अनि दशैंतिहारमा गाउँ नै रमाइलो हुनु यी मेरा गहिरा सम्झनाहरू हुन् गाउँमा हरेक घरमा बिहानको जाँतोको आवाज आउँथ्यो। खेतहरूमा हलो जोत्ने दृश्य आम थियो। महिलाहरू पिसाउँदै गित गाउने, अनि साथीहरू स्कूलको झ्यालबाट हाम फालेर छुट्टी नहुँदै गएर बाटोमा खेलेर समय बिताउने, ती क्षण अब केवल सम्झनामा बाँकी छन्। आज जब म गाउँ पुग्छु, ती सबै दृश्यहरू सम्झिँदै आँखा रसाउँछन्। मसँगै पढेका, हाँसेका, गोठालो गएका साथीहरू कोही छैनन्। अधिकांश भारततिर रोजगारी गर्न गएका छन्, कोही खाडी मुलुकमा पसिना बगाइरहेका छन्, त कोही नेपालकै सरकारी सेवामा छन्। म आफूलाई भाग्यमानी ठान्छु, जसले निजामती सेवामा रहँदै अछामलाई नै कार्यथलो बनाई बेलाबेलामा रिमा फर्किने मौका पाइरहेको छु।तर फर्किंदा, गाउँले जीवनको ऊर्जाशीलता हराएको पाउँछु। खेतहरू बाँझो छन्, कुलोहरू फुटेका छन्, विद्यालयहरू सुनसान छन्। बस्तीमा केहि वृद्ध बुबाआमाहरू र महिलाहरू मात्र छन्। उनीहरू खेतबारीमा काम गर्दै भेटिन्छन् अनुहारमा थकान छ, आँखामा संघर्ष, तर उनीहरू अझै टुटेका छैनन्।
नेपालले संघीय शासन प्रणाली ल्याएको दशकभन्दा बढी भइसकेको छ। जनताको घरदैलोमा सेवा पुग्ने, स्थानीय तह सशक्त हुने सपना थियो। केही सुधार भएका छन् विद्यालयमा नयाँ भवन, स्वास्थ्य चौकीमा केहि औषधि, केही कच्ची बाटोहरू चौडा, तर ती सुधारहरू पर्याप्त छैनन्। रिमा गाउँमा अझैपनि खानेपानीको नियमित व्यवस्था छैन। सडकको पहुँच असहज छ — हिउँदमा धुलो, बर्खामा हिलो, संघीयताको नाममा धेरै बजेट बग्छ, तर परिणाम गाउँमा देखिँदैन। विकासको चर्का नाराभन्दा स्थानीयको आवश्यकता बुझेर काम भए मात्रै गाउँ बाँच्नेछ। गाउँका युवाहरू पलायन छन्। आजको दिनमा गाउँमा काम छैन, रोजगारी छैन, खेतीको नाफा छैन। पढेलेखेका युवाहरू शहर जान्छन्, काम नपाएका भारत र अरब पुग्छन्। बाँकी बचेका केही वृद्ध बाआमाहरू आफ्नो थातथलो सम्हालिरहेका छन्। यसरी गाउँ रित्तिँदा यसको असर केवल भौतिक होइन, भावनात्मक, सामाजिक र सांस्कृतिक रूपमा पनि पर्न थालेको छ। गाउंको परम्परा — देउडा, हुड्केली, ठाडिभाका, मेलापातमा गाउने अन्य थुप्रै गितहरु लोप हुने अवस्थामा छन्। पुर्खाले छाडेको माटो, घर, रीतिरिवाज एक एक गर्दै झरिरहेका छन्।
म बुझ्छु, गाउँ फेरि बाँच्न सक्छ। रिमा गाउँको सम्भावना म देख्छु—त्यहाँको माटोमा अझै शक्ति छ, त्यस जंगलमा अझै अक्सिजन छ, त्यस खोलामा अझै जीवन बगिरहेको छ। केवल त्यसमा सिँचाइ चाहिएको छ—सिँचाइ योजनाको होइन, सिँचाइ सोचको। यदि सरकार र स्थानीय तहले ईमानदारीपूर्वक गाउँमा लगानी गरे, युवाहरूको हातमा सीप र अवसर दिए, किसानलाई मल र बजार दिए, शिक्षालाई गुणस्तरीय बनाए, र ग्रामीण पर्यटन प्रवद्र्धन गरे—गाउँ फेरि हराभरा बन्न सक्छ।गाउँमा अहिले पनि जडीबुटी छन्, प्राकृतिक सुन्दरता छ, मौलिक परम्परा छ। यी सबैलाई संरक्षण गर्दै आधुनिकतासँग जोड्न सकियो भने, यहाँका युवाहरू विदेशतिर होइन, गाउँमै सम्भावनाको खोजी गर्न सक्नेछन्। हामीले केवल चाहनु पर्छ, गाउँप्रति उत्तरदायित्व महसुस गर्नुपर्छ। म कल्पना गर्छु त्यो बिहान, जहाँ बालबालिकाहरू हाँस्दै स्कूल जान्छन्, खेतमा हिउँछेकदेखि डल्लो पारेर आमाहरू रोपाइँ गर्छन्, कुलोमा बालकहरू पौडी खेल्छन्, साँझ परेपछि गाउँभर देउडाको आवाज गुञ्जिन्छ। साथीहरू फर्किएका छन्, आफ्नै घर बास बस्छन्, बाआमाको सेवा गर्छन्। त्यो कल्पनामा म रमाउँछु, र ती दृश्यहरू सम्भव छ भन्ने विश्वास बोकेर बाँचिरहेछु। रिमा गाउँ केवल एउटा भौगोलिक स्थान होइन—यो मेरो जीवनको मेरुदण्ड हो, मेरो आत्माको गहिरो टुक्रा हो। म जति नै टाढा जान्छु, त्यो माटो मलाई तानिरहन्छ। म जतिसुकै व्यस्त रहुँ, त्यो कुलोको आवाज कानमा गुन्जिरहन्छ। त्यसैले म रित्तिएको गाउँमा पनि सम्भावनाको बीउ देख्छु। म त्यो बीउलाई रोप्न चाहन्छु, मलजल गर्न चाहन्छु, अनि एकदिन त्यो हरियो बोट बनेर गाउँभरि छायाँ फैलाओस् भन्ने सपना देखिरहेको छु।रित्तिएको गाउँलाई फेरि जीवन्त बनाउने जिम्मेवारी सरकारको मात्र होइन, हामी सबैको हो। जसले गाउँ छोड्यौं, उनीहरूले पनि फर्केर केही गर्न सक्छौं।
म कल्पना गर्छु त्यो दिनजहाँ डाँडापाखा फेरि हरियालीले ढाकिएको छ।जहाँ बारीमा गहुँ, मकै, आलु झुलिरहेका छन्।जहाँ बिहान बाख्राको घण्टीको आवाज आउँछ।जहाँ गाउँका बालबालिकाहरू स्कूल जान्छन्।जहाँ दशैंमा देउडा गाइन्छ। तिहारमा सानोठूलो छुट्टाछुट्टै समुहमा देउसी खेलिन्छ। जहाँ बिदेशिएका साथीहरू फर्किएर आफ्नै गाउँमा पसिना बगाउँछन्। जहाँ बाआमाहरूको जीवन सुखद र सम्मानजनक हुन्छ। म त्यो सपना देखिरहेको छु — र त्यही सपना लिएर बाँचिरहेको छु। रिमा मेरो आत्मा हो, माटो हो, मेरो अस्तित्व हो।
लेखक: प्रकाश रिमाल हाल निजामती सेवामा कार्यरत छन्।