सर्लाहीमा टिपरको ठक्करबाट गम्भीर घाइते बाजुरा घर भएका प्रहरी जवानको मृत्यु

सर्लाहीमा टिपरको ठक्करबाट गम्भीर घाइते  बाजुरा घर भएका प्रहरी जवानको मृत्यु

लालबन्दी : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोरमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचार क्रममा मृत्यु भएको छ ।

मंगलबार दिउँसो सवा एक बजे ईश्वरपुर नगरपालिका–५ स्थित फुलजोर चोकमा दुर्घटना भएको थियो ।

लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको ना१क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तरतर्फ राजमार्गमा निस्कन खोज्दै गरेको बीआर ०१ एफजे ६९६१ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिएको दिएको थियो ।

उक्त मोटरसाइकल चलाउने व्यक्तिको परिचयपत्रअनुसार उनी नेपाल प्रहरीको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत प्रहरी जवान मीनबहादुर दानी रहेका खुलेको छ ।

अन्दाजी २५–३० वर्षका दानीको टाउको र शरीरमा गम्भीर चोट लागेकाले उनलाई तत्कालै लालबन्दीस्थित मोडल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज पठाइएको थियो ।

उनी बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–६ घर भई हाल सर्लाहीको मलंगवा नगरपालिका–३ मा कार्यरत मुस्लिम आयोगका माननीय सदस्य मोहमद सम्सुल हकका व्यक्तिगत सुरक्षामा खटिएका थिए ।

प्रहरीका अनुसार दिउँसो पौने ३ बजे प्रहरी हवल्दार सर्फुदिन मियाँको साथमा ज१च ९८६ नम्बरको एम्बुलेन्समा दानीलाई नेशनल मेडिकल कलेजबाट बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । तर, गम्भीर अवस्थामा रहेका दानीको साँझ करिब सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शव हाल एलएस न्यूरो अस्पतालमै राखिएको छ ।

दुर्घटनामा संलग्न टिपर चालक ३६ वर्षीय नारायण दत्त श्रेष्ठ (सुशील) लाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सर्लाहीकै लालबन्दी नगरपालिका–१७ (रानीगञ्ज) का रहेका प्रहरीले जनाएको छ ।

उनले मादक पदार्थ भने सेवन नगरेको प्रारम्भिक जाँचबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले दुवै सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply