खेलको विकासमा सरकारले आवश्यक बजेट छुट्याउन सकेनः नेता कोईराला

खेलको विकासमा सरकारले आवश्यक बजेट छुट्याउन सकेनः नेता कोईराला

काठमाडौँ-नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन्। शनिवार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

उनले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताए। उनले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने बताए। उनले कुनैपनि देशलाई विकास गर्नका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताए।

उनले खेलकुदको विकास गर्नसके मात्रै युवाहरु आकर्षित हुने र अनुशासित हुने बताए। खेलकुदलाई सबै राजनीतिकर्मीहरुले महत्वपूर्ण विधाको रुपमा लिएर अघि बढ्नुपर्ने बताए।

उनले भने,‘नेपालमा खेलकुदको विकास भइराखेको छैन भनेर त म भन्दिनँ। तर जति हुनपर्ने हो खेलकुदको विकास, जसरी सरकारले बजेट छुट्याउनुपर्ने हो खेलकुदको निम्ति ति बजेटहरु छुट्याउन सकिरहेको देखिँदैन। खेलकुदका साथीहरुलाई जुन प्राइज दिन्छु भनेर करातेका साथीहरुले पनि जित्नुभएको रहेछ। गोल्डमेडल पनि पाउनुभएको रहेछ। अरु साथीहरुले पनि पाउनुभएको रहेछ। क्रिकेटका साथीहरु थिए। प्राइज दिने भनेर सरकारले घोषणा गर्छ, आश्वासन दिन्छ, तर दिन सकिरहेको थिएन, त्यस्तो अवस्थाबाट देश अघि बढिरहेको छ। कुनैपनि देशलाई विकास गर्नुछ भने खेलकुदको विकास गर्नुपर्छ। खेलकुदको विकास गर्न सक्यौँ हामीले भने युवाहरु इनर्जेटिक हुन्छन्, अनुशासित हुन्छन् र त्यो देश अनुशासित र विकसित हुन्छ। त्यसकारण खेलकुदलाई हामी सबैले राजनीतिकर्मीहरुले अत्यन्त महत्वपूर्ण विधाको रुपमा लिएर अघि जानसक्यौँ भनेमात्रै देशले एउटा गौरव गर्ने ठाउँ भेट्छ।’

नेता कोईरालाले अध्ययन जत्तिकै खेलकुद पनि महत्वपूर्ण रहेको बताए। अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने बताए। उनले आगामी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरले पहल गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *