बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

 

डुडुवा गाउँपालिका ६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तु रुद्रपुरका करिव २१ वर्षीय सुलभ केसीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । मृतक केसी अपहरण, शरिर बन्धक र जवरजस्ती करणीमा सजाय भोगिरहेका थिए ।

राती करिब साढे १० बजेबाट भएको झडप दुई बजेसम्म भएको थियो । झडपमा परि १० जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा जुम्लाका कालिबहादुर ऐडी, दाङका राजिव राय केसी लगायत रहेको प्रहरीले जनाएको छ ।

बाल सुधार गृहमा दुई सय ५५ जना छन् । ति सवैले एकसाथ प्रहरीमाथि आक्रमण गरि कार्यालय र सवारी साधन तोडफोड गरेका छन् । तोड्फोडबाट सुधार गृह र कार्यालय भवनको झ्यालका सिसा फुट्नुका साथै कार्यालयमा रहेका कम्युटरलगायतका उपकरणमा क्षति पुगेको छ । सुधार गृहमा रहेका प्रहरीको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पुर्‍याएको  प्रहरीले जनाएको छ ।

बालसुधार गृहमा रहेका यूवाको समुहले आफूले खाने थाल, कटौरा, गिलास समेत बाहिर फालेका छन् । बाल सुधार गृहमा रहेका केहि नाइकेहरु भागेको अनुमान गरिएको छ । तर, प्रहरी त्यहाँ जान सक्ने अवस्था नरहेकोले भाग्नेको संख्या एकिन हुन नसकेको डिएसपी डाँगीले बताए । ‘भित्र कति जना छन् भन्ने एकिन नहुँदासम्म कति जना भागे भन्ने एकिन गर्न सकिदैन,’ उनले भने, ‘३०–३५ जना भागेको अनुमान छ ।’

विहान अवस्था केहि सामान्य भए पनि छतबाट ढुंगा, इट्टा फाल्ने क्रम रोकिएको छैन । उनीहरुले प्रहरीलाई गालीगलौज गर्ने क्रम रोकिएको छैन । ‘स्थिति केहि सामान्य भएको छ, तर अझैँ नियन्त्रणमा आएको छैन,’ डिएसपी डाँगीले भने ।

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।  उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।

nayapatrikadaily.com बाट

Leave a Reply