त्रिभुवन विमानस्थलको अध्यागमनमा भेटिएका कथा!

त्रिभुवन विमानस्थलको अध्यागमनमा भेटिएका कथा!

फुच्चादेखि बडोमाका विमान फुत्तफुत्त उडिरहने र बसिरहने नेपालको चल्तीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। हजारौं यात्रु अन्तर्राष्ट्रिय उडानमा कोही आउँछन्, कोही जान्छन्। तिनलाई आवतजावतको अनुमति दिन अध्यागमनमा निजामती कर्मचारी खटिएका छन्।

अध्यागमन अधिकृतको अनुमतिपश्चात गत आर्थिक वर्षमा साढे उन्नाइस लाख यात्रु आगमन भए र साढे तेइस लाख प्रस्थान। त्यत्रा यात्रुलाई सेवा दिँदा अनेकौं कथाव्यथा भेटिन्छन् अध्यागमनमा। तिनै कथाव्यथाको चाङबाट टपक्कै टिपिएका केही दर्दनाक, केही रमाइला प्रतिनिधि घटना छन् यहाँ।

विदेश जान नपाएका यात्रु

रसुवातिर हाइड्रोपावर कम्पनीका ज्यालादार श्रीधर (नाम परिवर्तन)। भिजिट भिसा छ चीनको, केवल तीस दिनको। विदेसिन आए। एयरपोर्टभित्र छिरे। सुरक्षाकर्मी, एयरलाइन्स, अध्यागमनमा क्रमशः सोधपुछ भयो। प्रस्थान अनुमति पनि पाए। पर्तिर ‘सेक्युरिटी’ जाँच भएर ‘डिपार्चर’ हलमा छिरे। प्लेन उड्ने उड्ने बेला भयो। तर उनी उड्न छोडेर ‘सेल्फ अफलोड’ (आफ्नै कारणले फिर्ता) हुने भन्दै अध्यागमनतिरै फर्किए।

‘सँगै जाने अर्को भाइलाई माथि आउनै दिएन। एक्लै भएँ, म फर्किन्छु,’ भन्न थाले।

को भाइ? कसले रोक्यो? फोन लगाउन भनियो।

भाइ होइन, दाइ रहेछन्। विदेश जाने पनि रहेनछन्। अब, जाँदै नजाने मान्छेलाई कसले छिर्न दिन्थ्यो र?

ठीक त्यही बेला उस्तै प्रकृतिको भिजिट भिसामा उही देश जान लागेका तीनजना किशोरीका कागजात शंकास्पद देखिएपछि अध्यागमनले अफलोड (प्रस्थान अनुमति नदिएर फर्काउने) गरिदियो। तिनलाई विमानस्थल अध्यागमनले जाने अनुमति दिँदैन भन्ने आशंका पहिल्यै रहेछ। त्यसैले तीन दिनअघि रसुवागढी पुगेर सडक मार्गबाट तिब्बत छिर्ने असफल प्रयास गरेछन्। तर चिनियाँ अध्यागमनले फर्काइपछि दोस्रो प्रयास स्वरूप यता पुगे। अभागी खप्पर, जता गयो त्यतै ठक्कर भनेझैं भएछ!

तीस दिन छेन्दु घुम्ने योजना अरे! कमजोर आर्थिक अवस्थाका कारण थोरै तलबमा ठमेलका रेस्टुरेन्टतिर डान्स गर्लका रूपमा काम गर्ने १९-२० वर्षीया किशोरीहरू। एकजना चिनियाँले भिजिटमा छिराएर उता पुगेपछि रेस्टुरेन्टमै काम गर्ने भिसा मिलाई दिने प्रलोभन देखाएर बोलाएका रहेछन्। अहिलेसम्मको खर्च पनि उसैले बेहोरेको अरे!

अस्ति रसुवागढीबाट फर्किएका उनीहरूलाई हिजो माइती नेपालले पनि सोधपुछ गरेछ। कहाँको माइती नेपाल, भनेनन्। आजै बिहान एयरपोर्टमा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले केरकार गरेको। तर ‘उमेर पुगेका हामीले संविधानले दिएको घुम्ने अधिकार पनि प्रयोग गर्न नपाउने’ भन्दै झगडै गरेपछि केही सीप चलेन। छोड्नै पर्‍यो।

बोर्डिङ पास लिएपछि अध्यागमन डेस्कमा आइपुगे। कतै विदेश नगएका, सानै उमेरका किशोरीहरू देखेपछि फर्किने टिकट छ कि छैन, परिवारको सहमति छ कि छैन, उता विदेशमा कोही आफन्त छन् कि छैनन्? घुम्ने हैसियत देखाउने बैंक ब्यालेन्स छ कि छैन, जोखिममा पर्ने सम्भावना आदि विषय समेटेर भ्रमणको उद्देश्यबारे अध्यागमन अधिकृतले सोधे —

तपाईंहरू के गर्न जाने हो नि विदेश?

‘घुम्न।’

साँच्ची घुम्न कि काम गर्न हो?

‘घुम्न हो सर, साँऽऽऽच्ची।’

हो जस्तो लाग्दैन त!

‘मम्मी कस्सम! घुम्नै जाने हो क्या सर! अनि त हाम्ले घुम्नै नपाउनु? हाम्रो घुम्ने ‘फ्रिडम’ छैन र? यो देशमा बसेर के गर्ने? उता यसो पैसोसैसो नि कमाइन्छ।’

कुरो पैसा कमाउनेमा आएर रोकिनुले घुम्ने आवरणमा काम गर्नै जान लागेको कुरो केवल शंका त रहेन।

तर मम्मीकै कसम खाइसकेपछि मम्मीलाई फोन लगाउन भनियो। एउटीले एउटा नम्बर निरन्तर दुईपटक डायल गरिन्। फोन उठेन। बाबाको मोबाइलमा फोन लगाउन आनाकानी गरिन्।

पछि छ-सात पटकसम्म पनि मम्मीको फोन नउठेपछि मुर्मुरिँदै भन्छिन्, ‘कस्तो यार मम्मी! यस्तो बेला पनि धोका दिने?’

ट्विस्ट त्यति बेला आयो जब भर्खरै अफलोड भएका तिनै श्रीधर तीन जनालाई लिएर छेन्दु जाँदै गरेको रहस्य खुल्यो। किशोरीहरूलाई अध्यागमनले जानै नदिएपछि रित्तै जानुको औचित्य नदेखेर आफैं फर्किएका रहेछन् उनी। चारैजना अध्यागमनबाट फर्किँदा कम्तीमा तीन किशोरीहरू सम्भावित जोखिमबाट बचे।

विदेश जान पाउने यात्रु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक प्रवेश गर्दा यात्रु कुनै भुलभुलैयाभित्र पसेझैं अलमलमा पर्छ।

कारण — विमानस्थल साँघुरो छ। स्पष्ट र पर्याप्त संकेत छैनन्। बाहिरै खचाखच, भित्रै खचाखच यात्रु। प्रवेश गर्दैगर्दा झोला र बोकेका सबै सामानको सुरक्षा जाँच। बोर्डिङ पास दिनुअघि एयरलाइन्सबाट कागजात टिकट जाँच र झोलाको तौल परीक्षण। अध्यागमनमा पासपोर्ट, भिसाको वैधता, भ्रमणको उद्देश्य, कालोसूची वा इन्टरपोलको सूचीमा परे नपरेको जाँच। सुरक्षा जाँचको अन्तिममा जुत्ता, बेल्ट, घडी फुकालेर मोबाइल र पर्स झिकेर जाँच हुँदा यात्रुलाई दुबिधा हुन्छ— कतै आफू यात्रु कम, अपराधी बढी त होइन?

त्यही भीडमा एकदिन रातो अक्षता चुहिने गरी निधारमा लगाएकी, एउटा खादा पहिरिएकी, अर्को झोलामा गाँठो पारेकी किशोरीको प्रवेश हुन्छ। गाँठो त मनमा पनि परेको होला, त्यो अध्यागमनले देख्ने कुरो भएन। विमानस्थल बाहिर छोरीलाई विदेश पठाउँदा बाआमाका मनमा र बाआमालाई छोड्दा छोरीको मनमा पनि गाँठो परेकै हुनुपर्छ। ती सबै गाँठालाई थाती राख्दै उनको यात्रा तय भएको हो।

हातमा बोर्डिङ पास र अन्य कागजात च्यापेकी छिन्। कागजातको बीचमा एउटा प्लस-टु उत्तीर्ण गरेको प्रमाणपत्र छ। केही डलर साटेको छाप छ पासपोर्टमा। पहिले उता गएर त्यही डलर खर्चिने छिन् अनि विस्तारै यता घरखर्च पठाउने छिन्। अनि बाआमाको सपनाको गाँठो फुक्दै जानेछ। दिदीसँग नाता प्रमाणित गरिदिएको छ वडाले। दिदीको पासपोर्टले दुई वर्षअघि दुबई गएको देखाउँछ। दिदी नै भएपछि अलपत्र पर्ने छैनन् पनि दुबईमा।

प्रस्थान कक्षमा उनका अगाडि लहरै मिलेका चौध डेस्क छन्। विदेशीलाई छुट्ट्याइएका सुरूका चारवटा बाहेक जुनसुकै डेस्कमा उनको पालो आउनेछ ‘फर्स्ट कम फर्स्ट सर्भ’ को सिद्धान्तबमोजिम। पहिलो विदेश यात्रा हो। उनी डेस्क अफिसरलाई हेरिरहेकी छन् आँखाले, तर चाल मुटुको बढिरहेको हुनुपर्छ।

डर पनि लागिरहेको हुनुपर्छ — अफिसरले अरूलाई झैं प्रस्थानको छाप नहानेर रोक्छन् कि?

किनकि उनी जान लागेको त कामै गर्न हो, तर साथमा भिजिट भिसा छ। काम गर्ने भिसा पाउनै मुस्किल छ। पाए पनि श्रम स्वीकृति लिन झन्झट। उता कम्पनी खोजेजस्तो नपाइन सक्छ। त्यसैले उनले आफ्नो घुम्ने हैसियत बनाउन नसके पनि भिजिट भिसा बनाएकी छन्। जाने देशको नाम स्पष्ट भन्न सक्दिनन् तर होटल बुक गरेकी छिन्। फर्किने टुंगो छैन तर ‘रिटर्न’ टिकट काटेकी छन्। यसअघि यसैगरी भिजिट भिसामा विदेसिएका गाउँले, आफन्त र साथीभाइकै बाटो पछ्याएकी उनले पनि भिजिटमा जाने अनुमति पाइन्। र, बडोमाको प्लेनतर्फ कदम बढाइन्।

नेपाल भित्रिने विदेशी यात्रु

कतार एयरवेजले दुई सय यात्रु बोकेर ल्याएको छ दोहाबाट। अधिकांश पश्चिमा पर्यटक। सँगसँगै अवतरित नेपाल एयरलाइन्सले त्यत्तिकै संख्यामा यात्रु ल्याएको छ मुम्बईबाट। अधिकांश भारतीय पर्यटक। एकसाथ दुई फ्लाइटका यात्रुले अराइभल कक्ष खचाखच छ। भारतीय बाहेकका विदेशीहरू भिसा फर्म भर्न राखिएका ‘किओस्क’ मेसिनको लहर अगाडि उभिएका छन्। केही भिसा शुल्क तिर्न बैंकको लाइनमा खडा। अन्य यात्रु बाइसधाराका धाराझैं लहरै मिलेका बाइसओटा ‘अराइभल काउन्टर’ अगाडि पालो कुरिरहेका।

एकजना साठी आसपासका बेलायती पर्यटक ढल्किँदै काउन्टरमा आए। अनलाइन फर्म भरेका तर भिसा शुल्क नतिरेका।

अध्यागमनले पैसा तिर्न बैंकमा जान अनुरोध गर्दा भन्छन् — मसँग पैसा छैन (आइ ह्याभ नो मनी)।

उसो भए भिजा कार्ड होला। कार्डबाट झिकेर तिर्नुहोस्।

होइन! मसँग कार्ड पनि छैन (नो! डन्ट ह्याभ कार्ड अल्सो)।’

अरू डकुमेन्ट छन् त?

‘तपाईं जे-जे सोध्नुहुन्छ मसँग छ। तर सबथोक झोलामा (यस, आइ ह्याभ ह्वाटएभर यु आस्क, अल इन माइ ब्याग)।’

उसो भए झोलाबाट झिकेर दिनुस्।

हाँस्दै भन्छन् — समस्या नै त्यही हो कि, मेरो झोला दोहामै छुट्यो (दयाट्स त प्रब्लम, आई लेफ्ट माइ ब्याग इन दोहा)।

भिसा शुल्क तिर्न नसके तपाईं फर्किनुपर्छ भन्दा उनको भनाइ थियो — मैले अपराध गरेको होइन। घुम्न आएको हुँ। पैसा नभएको पनि होइन। ब्याग उतै छुट्नुमा मेरो के दोष? म जाँदिनँ। तपाईंहरूले बढीमा मलाई एक दिन थुन्ने हो! तपाईंहरूको जेल पनि घुम्न पाउँछु। यो त मेरो नौलो अनुभव हुनेछ। भोलिसम्म त मेरो एम्बेसीले मलाई छुटाएर लगी हाल्छ।’

आफ्नो दूतावासप्रति नागरिक विश्वास र भरोसा कस्तो हुनुपर्छ भन्ने समेत सिकाउँदै थिए उनी।

दोहा ट्रान्जिटमा छुटेको उनको ब्यागको विषयमा एयरलाइन्ससँग जिज्ञासा राख्दा अर्को फ्लाइटमा मात्रै आउने जानकारी पाइयो। आगमन अधिकृतले विकल्प खोजे। अहिले एयरलाइन्सले पैसा तिरिदिने। लगेज र ब्याग आएपछि एयरलाइन्सलाई पैसा फिर्ता दिने।

छलफल चलिरहँदा पर्यटक आफैंले ‘आइडिया’ निकाले— मलाई लिन आएका एजेन्सीको मान्छेले हेल्प गर्न सक्छन्!

एजेन्सीवाला बाहिर पर्खाइमा रहेछन्। अब जिम्मेवारी सर्दैसर्दै कर्मचारीबाट एयरलाइन्स हुँदै ट्राभल एजेन्सीकहाँ पुग्यो। एजेन्सीले पैसा जम्मा गरिदियो। उनले भिसा पाए।

खुसी हुँदै पहेँलो फोल्डर ह्यान्डब्यागभित्र राख्दै बेलायती पर्यटक भन्छन्, ‘त्यसैले म नेपाललाई माया गर्छु। नेपालीहरू संसारमा सबैभन्दा सहयोगी छन्।’

तत्काल गोजीमा एक रूपैयाँ दाम नभएका विदेशीले सिकाएर गए— परिस्थिति जस्तोसुकै होस्, रमाउन जान्नुपर्ने रहेछ।

नेपालीमा भनाइ छ नि — बाँच्दै जानु, नाच्दै जानु!

अध्यागमनका कुरा

त्रिभुवन विमानस्थल भन्नेबित्तिकै झट्ट अध्यागमन कार्यालय दिमागमा आउँछ धेरैको। यथार्थमा अध्यागमन त्यहाँभित्रको सानो तर महत्त्वपूर्ण निकाय हो। विमानस्थलभित्र नागरिक उड्डयन प्राधिकरण, प्रहरी, प्रहरीका पनि अनेक युनिट। अन्य सुरक्षा निकायका युनिट। बैंक, मनी एक्सचेन्ज, भन्सार, क्लिनिक, एयरलाइन्स…।

यस्तै सयभन्दा बढी निकाय छन्।

यहाँको अध्यागमन कार्यालय चौबीसै घन्टा सेवा दिने कार्यालय हो। प्रवाह गर्ने जुनसुकै सेवा (प्रस्थान वा आगमन अनुमति) नदिए सोको कारण तत्काल लेखेरै दिने कार्यालय सम्भवतः अर्को छैन। विभिन्न कारणले नेपालीहरू विश्वका १५० भन्दा बढी देशमा जाने र १७० भन्दा बढी देशका मानिस नेपाल आएको देखिन्छ।

नेपालीसँगै उत्तिकै संख्यामा विदेशीलाई समेत सेवा दिने एक मात्र कार्यालय पनि यही हो। सेवाग्राही डेस्कमा आएको केही मिनेट (प्रतियात्रु औसतमा ३ मिनेटमा सेवा दिएको देखिन्छ) मा सेवा दिने कि नदिने भनेर शीघ्र र विवेकपूर्ण निर्णय गर्नुपर्ने यति संवेदनशील कार्यालय अर्को छैन।

कामको प्रकृति, सेवाग्राहीको ‘मुभमेन्ट’, ठूलो र समन्वयात्मक ढंगले चल्नुपर्ने भएकाले अध्यागमनको सेवा संवेदनशील छ। अपराधीहरू विदेश भाग्ने बाटो यो पनि हो। खाडी राष्ट्रहरू त छँदै थिए। पछिल्लो समय रसिया, कम्बोडिया, अजरबैजान, रोमानिया जस्ता मुलुकमा जोखिम मोल्न जाने प्रवृत्ति बढेको छ। विभिन्न बहानामा संगठित मानव बेचविखनका लागि विदेश लैजाने मार्ग यो पनि हो।

यसरी संवेदनशील बनेर दैनिक दसौं हजारलाई सेवा दिँदा कहिले सेवाग्राहीको जस पाइन्छ, कहिले गाली। स्वदेशीहरू विदेसिँदा देश कहिल्यै नसुध्रिने भयो भन्दै गएको र केही विदेशीहरू तिम्रो देशमा सिस्टमै छैन भन्दै झर्किएको सुनिरहनुपर्ने अवस्था पनि छ।

पीडाका कुरा नगरौं, पीडा कहाँ छैन?

तर देश बुझ्ने अनि विदेश बुझ्ने सुन्दर ‘प्लेटफर्म’ हो अध्यागमन। यो स्वदेशी-विदेशी कथाव्यथाको चौतारो पनि हो।

(लेखक गोकर्णप्रसाद उपाध्याय वरिष्ठ अध्यागमन अधिकृत हुन्।)

www.setopati.com बाट साभार

Leave a Reply