आफूलाई बचाइदिन क्यान्सरपछि घाँटीमा प्वाल पर्दा आवाजविहीन बनेका बुद्धिबहादुरको अपिल

आफूलाई बचाइदिन क्यान्सरपछि घाँटीमा प्वाल पर्दा आवाजविहीन बनेका बुद्धिबहादुरको अपिल

पर्वत : घाँटीमा भएको प्वाल देख्दैमा डर लाग्दो छ। त्यही प्वालका कारण उनको आवाज निस्किँदैन। इसाराका भरमा आफ्ना मनमा लागेका कुरा व्यक्त गर्दा उनको मनमा कति पिडा छ होला। १० वर्ष अगाडि घाँटीमा भएको क्यान्सरले घरविहीन हुने अवस्थामा पुगेको मान्छेलाई दश वर्षपछि फेरि घाँटीमै क्यान्सरले समातेपछि उनको पिडा देख्दा जो कसैको मन पनि अमिलो हुन्छ।

पर्वतको महाशिला गाउँपालिका–६ फलामखानी स्थित राम्चेका बुद्धि बहादुर सुनार उमेरले ४० वर्ष काटेका छन्। घाँटीको क्यान्सर भएपछि शल्यक्रिया गरेका उनलाई भौतिक रूपमा देख्दा नै मन सिरिङ्ग हुन्छ। शल्यक्रिया गरेको घाँटीमा ठुलै प्वाल बाहिरबाट देख्न सकिन्छ। उनको अवस्था त एउटा पाटो भयो नै उनी बिरामी भएपछि उनका कारण निम्तिएको घरको अवस्था पिडाको अर्को पाटो हो।

उमेरले ७५ वर्ष पार गरेकी बुद्धि बहादुरकी आमा टिकीसरा सुनारले छोरालाई सम्पत्ति सकेर छोरालाई बचाउन सकेकोमा खुसी लागेको भए पनि भगवानले आफ्नो खुसी लामो समय टिक्न नदिएको  भन्दै आँसु झारिन। आफू भन्दा पहिला छोरा स्वर्गे भएको देख्नु नपरोस् भन्ने चाहना पूरा गर्नको लागि घरमा पुग्नेदेखि आफूले भेटेका सबैलाई उनले छोरा बचाइदिन अनुरोध गर्ने गरेकी छिन्।

‘भएजतिको सम्पत्ति उपचारमा सकियो। ४/५ फेरसम्म पोखरा लैजाँदा उसले विदेशमा काम गरेर कमाएको पनि सकियो यहाँ घरमा भएको पनि सकियो। नाति नातिना इतुर्का साना छन्। तिनीहरूलाई के गर्ने हो? म बुढी भएकी छु बाबु यस्तै छ’, टिकीसरा भन्छिन्, ‘मेरै पनि खुट्टाले हिँड्न हुँदैन। हाम्रो अवस्था यस्तो टिठ्याउँदो भयो। बरु मै मर्न पाए आनन्द हुने थियो। बरु मै मरेर मेरो आयु छोरामा सार्दे भगवान्! बरु म बाँचेर के काम छ र अब? म बाँचे यही छोरा मरेको देख्न पर्नी भयो। अब कसैले बचाइदिन सके त हो।’

बुद्धि वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष अगाडि कतारमा थिए। आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि नेपाल फर्किएर उपचार थाले। घाँटीको क्यान्सर भएको थाहा पाएपछि उनको अवस्था झनै बिग्रियो। यसै त गाउँको गरिब परिवार, त्यसमाथि घाँटीको क्यान्सर। पहिले भएको क्यान्सरको घाउ नमेटिँदै बुद्धि फेरि पनि क्यान्सरको चपेटामा परेका छन्।

उनको अवस्थाका बारेमा जान्न खोज्दा श्रीमती सिता सुनारले आवाज नै निकाल्न सकिनन्। पुनर्जीवन पाएका श्रीमानको घाँटीमा फेरि पनि क्यान्सर देखिँदा उपचारको लागि खर्च नभएपछि रोग पालेर घरमै बस्नुपर्दा उनको बोली फुटोस् पनि कसरी? १० वर्षदेखि श्रीमान्को बोली नै सुन्न नपाएकी उनलाई अहिले देखिएको क्यान्सरको उपचार गर्न नसक्दा श्रीमान्लाई सधैँका लागि गुमाउनुपर्ने त होइन? भन्ने चिन्ताले खाएको छ। साना उमेरका दुई छोरी र एक छोरा, कपाल फुलेर सेतै भएकी सासू अनि जीवन र मरणको दोसाँधमा टोलाइरहेका श्रीमान् देख्दा उनलाई असह्य पिडा हुन्छ।

बुद्धि बहादुरका दाइका छोरा कर्ण बहादुर सुनारका अनुसार उपचारका लागि हालै मात्र चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा पुगेका बुद्धिलाई फेरि पनि घाँटीको शल्यक्रिया गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। घाँटीको प्वाल कपडाले ढाकेर भए पनि मजदुरी गरेर परिवारमा आर्थिक जोहो गर्दै आएका बुद्धिको घाँटीका हड्डीमा पिप जमेकाले त्यसलाई ताछेर फाल्नुपर्ने चिकित्सकले बताएका छन्। तर आर्थिक अभावले रोग पालेर घरमै बस्नु बाहेकको विकल्प उनीहरूसँग छैन।

‘पहिले देखिएको क्यान्सरको उपचारमा नै सम्पत्ति सकिएको थियो। घरमा पालेका भैँसीदेखि कुखुरासम्म सबै बेचेर उपचार गरिएको हो। फेरि अहिले पैसा नभएर उपचार गर्न सकिएको छैन,’ कर्णबहादुर भन्छन्, ‘अब देश विदेशमा रहेका सबैले जति सकिन्छ उति सहयोग गरेर बचाउने बाहेकको विकल्प देखिएको छैन। अण्टी, हजुरआमा र भाइ बहिनीको अवस्था निकै दयनीय बनेको छ।’ घाँटीको हड्डीमा पिप पलाएकोले त्यो ताछेर फाल्नुपर्ने भनेर चिकित्सकहरूले सुझाए पनि उपचार गर्न नसक्दा त्यसैबाट शरीरको अन्य भागमा समेत क्यान्सर फैलिने उच्च जोखिम रहेको उनको भनाइ छ।

Leave a Reply