बिराटनगरमा चोरी भएको नवजात शिशु ७ लाखमा चिकित्सकले बेचेको खुलासा

बिराटनगरमा चोरी भएको नवजात शिशु ७ लाखमा चिकित्सकले बेचेको खुलासा

विराटनगर :  अस्पतालबाटै गायब भएको नवजात शिशु ७ लाख खर्च गरेर आफूले पाएको दिलमाया राजवंशीले प्रहरीलाई बयान दिएकी छिन् ।

अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु सोही अस्पतालका डाक्टर तपेश्वर लाल कर्णले पाँच लाख लिएको र उपचार बापत २ लाख रुपैयाँ आफूले तिरेको राजवंशीले बताएकी हुन् ।

मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीले शिशु लगेको पुष्टि भएको हो । उक्त शिशु प्रहरीले फेला पारेको छ । विवाह भएको एक दशक बितिसक्दा पनि दिमायाको छोरा सूर्यनारायण राजवंशी दम्पतीको सन्तान भएको थिएन । सन्तान नभएपछि दिलमायाले छोरा बुहारीको लागि नवजात शिशु लिन सात लाख रुपैयाँ खर्च गरेको बयान दिएकी हुन् ।

ग्रिनक्रस हस्पिटलमा जन्मिएकी उक्त शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । नवजात शिशु लिएर राजवंशी दम्पतीले नै विराट नर्सिङ होममा लिएर गएका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् । नवजात शिशु लिने र बेच्ने डाक्टलाई अहिले मोरङ प्रहरीमा राखेर अनुसन्धान भइरहेको एसपी दीपक पोखरेलले बताए ।

अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्तालबाटै विक्री भएको तथ्य यसअघि नै खुलेको थियो । आफूले जन्माएको शिशु हराएको भन्दै एक युवतीले मोरङ प्रहरीमा उजुरी दिएकी थिइन् ।

युवतीको उजुरीका आधारमा मोरङ विराटनगरमा रहेको ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कर्ण र अविवाहित युवतीका प्रेमि गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका थिए । उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसलगत्तै प्रहरीले लिएको बयान लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेका कर्ण र भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ गत आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई गत असार १३ गते विराटनगर लिएर आएका थिए । सुरुमा विराटनगरको दिपेश मेडिकल क्लिनिकमा युवतीलाई लिएर गोविन्द पुगेका थिए । उक्त क्लिनिक पनि डाक्टर कर्णको हो । त्यसपछि उनै डाक्टर कर्णले ग्रीनक्रस अस्पताल भर्ना गर्न लगाएका थिए । त्यसपछि युवतीले हस्पिटलमै नर्मल डेलिभरीमार्फत छोरी जन्माएकी थिइन् ।

ती युवतीले ग्रिनक्रस अस्पतालमा ९ सय ५० ग्रामको स्वस्थ शिशुलाई जन्म दिएको भनिएको थियो । प्रारम्भिक अनुसन्धानबाट एक केजीभन्दा बढी तौल भएको शिशु जन्म भएको खुलेको छ । त्यो शिशु जन्मिने क्रममा डा. कर्णको संलग्नता रहेको र शिशुको बन्दोबस्तीका लागि बाबु गोविन्दबाट रकम लिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

कर्णले यसअघि पनि मोटो रकम लिएर निःसन्तान दम्पतीलाई नवजात शिशु उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *