२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं,  नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानीद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहनुभएको छ । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई फरक ढङ्ग र शैलीले काम गरी प्रहरी संगठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुने अपेक्षा रहेको बताउनुभयो । संगठनको विधि र प्रकृया अनुसार पदोन्नति भएको उल्लेख गर्दै उहाँले संगठनप्रति बफादार, इमानदार र निष्ठावान बन्दै संगठन सुधार गर्ने सुनौलो अवसरलाई आत्मसाथ गरी भावनात्मक रूपमा एकवद्धता भएर अगाडि बढ्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले संगठन बनाउने हकमा आन्तरिक शुद्धिकरणको साथै अझै उत्कृष्ट काम गर्न सबै एकजुट हुन आव्हान गर्दै नागरिकमैत्री व्यवहार प्रस्तुत गर्न आग्रहसमेत गर्नुभयो । नेपाल सरकारको प्राथमिकतालाई ध्यान दिँदै अझै सचेत र संवेदनशील भएर शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् नागरिक सेवामा समर्पित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्राप्त अवसर, उर्जा, हौसला र जिम्मेवारीलाई अझै परिष्कृत, परिमार्जित एवम् उत्कृष्ट तवरले कार्य सम्पदान गर्दै संगठनको श्रीवृद्धिमा मन, वचन र कर्मले समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *