विभाग गठनको प्रस्ताव ल्याउन देउवालाई महामन्त्री थापाको आग्रह

विभाग गठनको प्रस्ताव ल्याउन देउवालाई महामन्त्री थापाको आग्रह

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

विभाग तथा भ्रातृ संस्थाहरु गठन नहुँदा पार्टीलाई परिचालन गर्न कठिनाई भएको उनले बताए ।‘म त पुस २८ अघि नै भ्रातृ संस्थालाई पूर्णता दिऔं भन्ने पक्षमा छु । टुंगाउन सकिन्छ’, महामन्त्री थापाले भने, ‘भ्रातृ संस्थालाई पूर्णता दिएपछि केन्द्रीय समितिको बैठकमा सभापतिले विभाग गठनको प्रस्ताव गर्नुस् । हामीले त्यसलाई पास गर्छौं ।’केन्द्रीय समितिको बैठक २८ पुसमा बोलाइएको छ ।पार्टीले विधानले गरेको व्यवस्थाको प्रयोग गर्ने सर्वाधिकार सभापतिमा रहेको उनले बताए । सभापतिले विधानलाई कार्यान्वयन नगर्दा कतिपय विषयहरु अड्केका थापाले बताए ।

विधानसंगत कार्य नहुँदा मातहतका कार्यसमितिलाई पूर्ण रुपमा परिचालन गर्न नसकिरहेको उनले अप्ठ्यारो सुनाए । ‘तलका समितिलाई पूर्णता दिन पहिले हामीले पत्राचार गर्‍यौं । अहिले उनीहरुले प्रश्न गरे । पहिले केन्द्रको कमिटी पू्र्ण गर्नुुस् भनि तलबाट भन्ने स्थिति आएको छ,’ थापाले भने ।

महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने विधानको व्यवस्था छ । विधान अनुसार २८ वटा विभाग गठन हुनुपर्दछ । प्रत्येक विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु गरी बढीमा ५१ जना हुनेछन् ।

संघको निर्वाचन भएको ३ महिनाभित्र भ्रातृ संस्थाहरुको अधिवेशन गर्न पार्टीले निर्देशन दिएको छ । तर, भंग भएका १० मध्ये ५ वटा भ्रातृ संस्थाको मात्रै मूल नेतृत्व मनोनित गरिएको छ । मूल नेतृत्व मनोनित गरिएका ती भ्रातृ संस्थाले समेत पूर्णता पाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *