काठमाडौंमा बर्ड फ्लु देखियाे, चिकित्सकले दिए यस्ताे सुझाव

काठमाडौंमा बर्ड फ्लु देखियाे, चिकित्सकले दिए यस्ताे सुझाव

काठमाडौं:  काठमाडौंमा बर्ड फ्लुको संक्रमण भेटिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो । बर्डफ्लु भित्रिएकाे समाचारसँगै मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।

बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ । बर्डफ्लुको संक्रमण भएमा निमोनिया/रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्छ ।

Leave a Reply