माडी नगरपालिका आर्थिक गणना गर्दै, तथ्यांकको आधारमा बर्गिकरण

माडी नगरपालिका आर्थिक गणना गर्दै, तथ्यांकको आधारमा बर्गिकरण

माडी नगरपालिकाले नगरवासीको वास्तविक आर्थिक स्थिति पहिचान हुने गरी गरेको तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिइएको हो ।

अब पाँच दिनभित्र नगरपालिकालाई तथ्याङ्क उपलब्ध हुने कुरा नगरपालिका प्रमुख ठाकुर ढकालले बताएका छन् । एक व्यक्तिले वार्षिकरूपमा कति आम्दानी गर्दछ, स्वदेशमा र विदेशमा कहाँ रोजगारी गर्दछ, व्यापार व्यवसाय के सञ्चालन गरेको छ ? जस्ता आर्थिकसँग जोडिएका सबै तथ्य प्राप्त हुने उहाँले जानकारी दिनुभयो । नगरवासीको बैंक खातादेखि जग्गाको अवस्थासमेत नगरपालिकालाई जानकारी हुने गरी विवरण सङ्कलन गरिएको छ ।

४४ हजार जनसङ्ख्या रहेको यस नगरपालिकाले सङ्कलित तथ्याङ्कको आधारमा नगरवासीलाई वर्गीकरण गरेर अति विपन्नको सूचीमा परेकालाई जीवनस्तर उकास्नका लागि आवश्यक सहयोग नगरपालिकाले गर्ने नगर प्रमुख ढकालले बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी अति विपन्नका लागि स्वास्थ्य, शिक्षालगायतमा के सहयोग गर्न सक्छौँ ? योजना बनाएर काम गर्ने छौँ ।”

पहिलो चरणमा अति विपन्नलाई नगरपालिकाले रकम तिरेर स्वास्थ्य बिमा गरिदिने ढकालको भनाइ छ । यसका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । नगरपालिकाले विपन्न एक परिवारलाई रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्न लागेको हो।

Leave a Reply