“श्री जालपा देवी मन्दिर”

“श्री जालपा देवी मन्दिर”

आज भन्दा करिब ५००० (पाँच हजार) वर्ष पहिले अर्थात ईसापूर्व २९७५ (दुई हजार नौँ सय पचहत्तर) सालमा भारतमा हिन्दु र मुस्लिम धर्मावलम्वीहरु बीच धार्मिक युद्ध हुदा भारतका लाखौं हिन्दू धर्मावलम्बीहरु विस्थापीत हुन पुगे त्यसै क्रममा भारतको जलान्धरबाट मुस्लिम धर्मावलम्बीहरु बाट आफ्नी कुल देवीलाई संरक्षण गर्दै जोगाउदै ”माण्डव्य ऋ‌षीका सन्तान जाजा भट्ट” नाम गरेका हिन्दु ब्राह्मण  नेपालको धार्मिक एवम् पर्यटकिय क्षेत्र सुन्दर-सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला कमलबजार नगरपालिका वडा न. ९ (साविकको मष्टाबण्डाली गाउँ विकास समिति वडा नं. २) मष्टाबण्डाली, बजगाउँको ”देव-भूमि” सामुन्द्रिक सतह देखि करिब १५०० (एक हजार पाचँ सय) मिटरको उचाइमा अवस्थित पवित्र एवं धार्मिक क्षेत्र ”देउली” डाडा (चुचुरो) मा आइ‌पुगे र आफ्नी ”कुल देवी लाई देउली डाडामा स्थिापीत गराई श्री जालपा देवी भगवती पेरमेश्वरी” माता ज्यूलाई विराजमान गराए।

भारतको जलान्धर क्षेत्रबाट ल्याएको र श्री जालपा देवी भगवती परमेश्वरी माता ज्यूको मुल पर्व श्रावण शुक्ल पक्षको चतुर्दशी (मालिका चतुर्दशी) का दिन सूर्योदय भन्दा पहिले उठी नित्य कार्य एवं स्नान आदि गरि एक-चित, एक-भक्त ले पुजापाठ गरि देवीको श्रणमा पुगी दर्शन मात्र गर्नाले सम्पूर्ण दु: ख, कष्ट संकट, गरिबी एवम् विभिन्न किसीमका समस्याहरू को जालमा परेका आफ्ना भक्तजनहरूलाई त्यो समस्याको जालबाट मुक्त गराउने भएकोले “श्री जाला देवी ” भगवती परमेश्वरीको नामले भक्तजनहरुले  पुकार्दै आएको धार्मिक इतिहास रहेको पाइन्छ।

“जाजा भट्ट” अछामको देव भूमी मष्टाबण्डालीको  बजगाउँ मा बस्दै गर्दा उहाँ बाट वंश वृद्धि हुने कार्य निरन्तर हुदै गयो त्यसपछि उहाँले आफ्ना सन्तानलाई चार- भाई बजगाई मा विभाजन गरिदिनु भयो जस- अन्तर्गत अधिकारी, स्वार, बजगाई र भण्डारी गरी चार भाईमा विभाजन गरिदिनु भयो। बौदिक हिसाबमा सबै भाई भन्दा श्रेष्ठ, आफ्ना सबै अधिकारहरू लिएर राज-पाठ, सम्हाली अरु भाइ‌को अधिकार पनि संरक्षण गरेको लाई अधिकारी भनेर घोषणा गरिदिए। अरु भाई भन्दा सबै कुरामा अब्बल भएको कारणले अधिकारी मात्र कुुल देवी श्री जालपा देवी भगवती परमेश्वरी माता ज्यूको ”मुल पुजारी” हुन् पाउने व्यवस्था समेत लागु गरे, स्वारलाई देवीको हवन (होम)  गर्ने कार्यमा लगाई दिए, त्यसैगरी बजगाई लाई हेराउने (जोइसेलो) कार्यमा लगाई दिए र भण्डारीलाई भण्डार (अनाज) को जिम्मा लगाई दिए यसरी चार भाई बजगाई लाई अलग-अलग कामको जिम्मा लगाई दिए। अछाम को देव भूमि बजगाउँबाट उत्पती भएको हुदाँ चार भाई बजगाई भनेर चिनिन थालेको भन्ने मान्यता रहेको छ।

मैलेअध्ययन- अनुसन्धान गरेर बुझेको र हाम्रो समाजका जेष्ठ-श्रेष्ट व्यक्तित्व एवम् हामो परिवारका अग्रज व्यक्तित्वहरु बाट लिएको जानकारी अनुसार विगत हजारोँ वर्ष देखि श्री जालपा देवी भगवती परमेश्वरी माता ज्यूको मुल पुजारीको रूपमा बजगाउँका “ठुलाखली” (ठुलाखलाका) अधिकारी रहदै आएको इतिहास छ। जस अन्तर्गत सुरुमा “राम-कृष्ण अधिकारी” मुल पुजारीको रुपमा रहनु भयो, त्यसपछि राम-कृष्ण अधिकारीका छोरा ” पहराम अधिकारी” मुल पुजारीको रुपमा रहनु भयो, त्यसपछि पहराम अधिकारीका छोरा “धर्म-देव अधिकारी” मुल पुजारीको रुपमा रहनु भयो, त्यसपछि धर्म-देव अधिकारीका छोरा “नन्दलाल अधिकारी” मुल पुजारीको रुपमा रहनु भयो र हाल नन्दलाल अधिकारीका छोरा “दिपक प्रसाद अधिकारी” मुल पुजारीको रुपमा रहनु भएको छ।

परापुर्व काल देखि हाल सम्म कुल देवी श्री जाला देवी भगवती परमेश्वरी माता ज्यूको मन्दिरमा वर्षमा ३ (तीन) पटक विशेष पुजापाठ हुदै आएको छ। जस अन्तर्गत ”जालपा देवीको मुल पर्व श्रावण शुक्ल पक्षको चतुर्दशी” (मालिका चतुर्दशी) का दिन, त्यसैगरी “असोज शुक्ल सप्तमी” (फूलपाती) का दिन र “चैत शुक्ल सप्तमी” का दिन जालपा देवी मन्दिरमा मेला लागि विशेष पुजापाठ हुदै आइराखेको छ।

माण्डब्य बजगाई बन्धुहरुले कुल देवी श्री जालपा देवी भगवती परमेश्वरी माता ज्यूको विधि-विधान  पुर्बक नित्य पुजा-पाठ एवम् आरधाना (स्मरण) गर्दा माता प्रसन्न (खुसी) भई माण्डब्य बजगाई बन्धुहरुलाई विद्या, बुद्धि, धन-सम्पत्ति, सन्तति आदिले भरिपूर्ण  गरिदिनु भयो। आफु सम्पन्न भइसकेपछि अछाम को “बजगाउँ” बाट बाहिरी जिल्ला र शहरहरुमा धेरै वर्ष पहिले देखि बसाइँसराइ  गरेर जानेको दर पनि तिव्र गतिमा रहेको पाइन्छ।

देश भरि छरिएर रहेका अधिकारी, स्वार, बजगाई, भण्डारी, ज्ञवाली, कटुवाल, माडीगडे रावल ……आदि थर भएका माण्डब्य गोत्रीय सबै बन्धुहरु अछाम  जिल्लाको बजगाउँ बाट गएका दस्तावेजहरू भेटिन्छन। त्यसैले “देव भूमि एवं पुण्य भूमि बजगाउँ लाई बजगाई बन्धुहरुको उद्‌गम स्थलका रूपमा पनि लिने गरिन्छ।

”कुल देवी श्री जालपा देवी भगवती परमेश्वरी माता ज्यू का कमल चरणमा कोटी-कोटी नमन अर्पण गर्दछु”।
जय जय देवी जालपा !

लेखक : 
गणेश अधिकारी 
कमलबजार नगरपालिका वडा नं.९ 
मष्टाबण्डाली, बजगाउँ ठुलाखला अछाम।

Leave a Reply