कमिसनको लोभमा मंगलसेन नगरपालिकाको कार्यक्रम सुर्खेतमा

अछाम : सामान्य रूपमा अछामको सदरमुकाम मंगलसेनमै सम्पन्न गर्न सकिने तालिमलाई सुर्खेतको महँगो होटलमा लैजानु पछाडि ‘कमिसनको लोभ’ रहेको भन्दै व्यापक असन्तुष्टि व्यक्त भएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने नाममा मंगलसेन छाडेर सुर्खेतमा तालिम आयोजना गरेपछि यसको औचित्यप्रति गम्भीर प्रश्न उठेको छ । जनप्रतिनिधि र कर्मचारीको टोलि बिहिवार नै अछाम बाट सुर्खेत हिडेको थियो ।
हिजो शुक्रबार बाट सुरु भएको तालिमका लागि नगर प्रमुख पदम बहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, अधिकांश वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा वडा सचिवहरू सुर्खेत पुगेका छन् । तीन दिनसम्म चल्ने भनिएको तालिममा नगरपालिकाका लगभग सबै निर्णय तहका व्यक्तिहरू सहभागी भएपछि मंगलसेन नगरभित्रको प्रशासनिक कामकाजमा ठूलो असर परेको छ ।
नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरूमा सेवा लिन आएका नागरिकहरू भने सेवाविहीन भएर फर्किन बाध्य भएका छन् । सामाजिक सुरक्षा भत्ता नवीकरण र राजश्व बुझाउन बिहीबार र शुक्रबार मंगलसेन नगरपालिका कार्यालयमा आएका सेवाग्राहीहरू कर्मचारी नभएकै कारण काम गर्न नसकी निराश भएर फर्किएको जनाइएको छ । यसरी टाढाबाट आएर कर्मचारीको अभावमा नगरमा काम नहुनु भनेको लज्जास्पद भएको भन्दै फर्किएको बताइएको छ । नगरका केहि कर्मचारीका अनुसार तालिम सुर्खेतमा लैजानु कुनै आवश्यकताको कारण नभई आर्थिक स्वार्थसँग जोडिएको छ । मंगलसेनको तालिम सुर्खेत लैजाने बारेमा आफूलाई आलोचनाबाट मुक्त हुनका लागि नगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले कार्यपालिकाबाट निर्णय गराएको केहीको भनाई छ ।
मंगलसेनका केहि व्यापारीले समेत तालिम बाहिर लैजानु सरासर ‘कमिसनको खेल’ भएको दाबी गरेका छन् । “यहाँ कर हामी तिर्छौं, नगरलाई सहयोग हामी गर्छौं, तर व्यापार सुर्खेतमा गरिन्छ । सुर्खेतमा पाइने सेवा यहाँ पनि उपलब्ध छ । यसरी बाहिर लैजानु हामीप्रति अन्याय हो,” ब्यापारीहरुले आक्रोश पोख्दै भने । प्रमुख प्रशासकीय अधिकृत डाँगीकै योजनामा नगर प्रमुखसहित कार्यपालिका पनि फसेको स्थानीयहरूले टिप्पणी गरेका छन् । नगरपालिकाले तालिमका नाममा आठ लाख रकमभन्दा बढी खर्च गर्ने अनुमान गरिएको छ, जसले रकम हिनामिनाको आशंका थप बलियो बनाएको छ । मंगलसेनमै गर्न सकिने तालिम सुर्खेतमा लैजानु अनावश्यक खर्च बढाउनुका साथै सेवाग्राहीलाई सास्ती दिने काम भएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन् ।
नगरपालिकाले विगतमा पनि विवादास्पद निर्णयहरू गर्दै आएको र यसपटकको तालिम प्रकरण त्यसकै अर्को कडी भएको उनीहरूको आरोप छ । मंगलसेनको कार्यक्रम सुर्खेतमा लिएर गर्नु नियत नै गलत भएकोले अख्तियार प्राप्त भएको निकायले यस बारेमा तुरुन्तै छानविन गर्नुपर्ने केही स्थानीयवासीको माग रहेको छ । मंगलसेन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गेहेन्द्र बहादुर डाँगी आईसकेपछी उनले एकपछी अर्को गरि विवादित काम गर्दै आएका छन ।