ढकारी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सार्वजनिक

अछाम : ढकारी गाउँपालिकाले १५ औँ गाउँ सभा मार्फत आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदको अध्यक्षतामा बसेको गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, महिला सशक्तीकरण, रोजगारी सिर्जना लगायतका बहु आयामिक कार्यक्रमहरू समावेश गरिएका छन्।
गाउँ सभा असार ३ गते मङ्गलवार सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, स्थानीय पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
नीति तथा कार्यक्रममा सबै नागरिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्ने उद्देश्यले १० शैयाको अस्पताल, महिला स्वास्थ्य सेवा, गर्भवतीका लागि पोषण कार्यक्रम, निःशुल्क उपचार सेवा लगायतका योजना अघि सारिएको छ। साथै, सामुदायिक विद्यालयहरूमा पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा प्रवर्द्धन, खेलकुद प्रतियोगिता तथा सीपमूलक तालिमहरू सञ्चालन गर्ने नीति समावेश गरिएको छ।
गाउँपालिकाले स्थानीय उत्पादन प्रवर्द्धन, पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन तथा सूचना प्रविधिको प्रयोग मार्फत पारदर्शी सेवा प्रवाहमा पनि विशेष जोड दिएको छ।
गाउँ सभा समापन गर्दै अध्यक्ष साउदले आगामी आर्थिक वर्ष समावेशी, पारदर्शी र जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।