कोल्ड स्टोर ठेक्का अस्वीकृत प्रकरणमा बान्नीगढी जयगढ गाउँपालिकाको खण्डन

कोल्ड स्टोर ठेक्का अस्वीकृत प्रकरणमा बान्नीगढी जयगढ गाउँपालिकाको  खण्डन

जयगढ, अछाम   बान्नीगढी जयगढ गाउँपालिका, अछामले कृषि उपज भण्डारणका लागि प्रस्ताव गरिएको कोल्ड स्टोर निर्माण सम्बन्धी ठेक्का प्रक्रिया रद्द भएपछि केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाउँदै स्पष्टिकरण सहितको विज्ञप्ति जारी गरेको छ।

गाउँपालिकाका अनुसार, आ.व. २०८१/८२ को स्वीकृत कार्यक्रमअन्तर्गत वडा नं. ३ मा निर्माण गर्न लागिएको कोल्ड स्टोरको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको थियो। सो योजनाको लागि मिति २०८१ फागुन १४ गते राष्ट्रिय दैनिक पत्रिकामार्फत E-bidding मार्फत बोलपत्र आह्वान गरिएको थियो। प्राप्त बोलपत्रहरू मूल्याङ्कनका लागि समिति गठन गरी मिति २०८२ बैशाख २४ गते बैठक बसेको र सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ तथा नियमावली, २०६४ को दफा १४७ अनुसार मूल्याङ्कन समितिको सुझावमा ठेक्का अस्वीकृत गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष टेकबहादुर साउदद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अस्वीकृत गर्ने निर्णय प्रकृयागत रूपमा पूर्ण रूपमा वैधानिक छ। तर केही अनलाइन मिडियाहरू ले सत्य तथ्य नबुझी र पूर्वाग्रही शैलीमा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूमाथि चरित्र हत्या गर्न उद्दत शैलीमा समाचार सम्प्रेषण गरेका छन्।”
विज्ञप्तिमा कोल्ड स्टोर योजना हालसम्म कार्यान्वयनमै नरहेको हुँदा कमिसन नपाएर ठेक्का रद्द गरिएको भन्ने आरोपको कुनै पनि सत्यता नरहेको स्पष्ट पारिएको छ। साथै, अनलाइन मिडियाले सम्पर्क नगरी एकपक्षीय रूपमा समाचार लेख्नुले पत्रकारिताको धर्म, नैतिकता र पेशागत मर्यादामाथि गम्भीर प्रश्न उठाएको गाउँपालिकाको ठहर छ ।

“पित पत्रकारिता, सामाजिक सञ्जालको दुरुपयोग र असत्य प्रचारमार्फत सार्वजनिक संस्थाहरूको छवि बिगार्न खोज्ने प्रयासहरू निन्दनीय छन्,” विज्ञप्तिमा भनिएको छ। गाउँपालिकाले यस्ता गतिविधिहरू तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई सचेत गराउँदै, प्रेस काउन्सिल नेपाल र सम्बन्धित नियामक निकायसँग साइबर अपराध अन्तर्गत कारबाहीको माग समेत गरेको छ।

गाउँपालिकाले नागरिकलाई भ्रामक सूचनाबाट सचेत रहन आग्रह गर्दै, सूचना प्रवाहमा पारदर्शिता र जवाफदेहिताको उच्च मापदण्ड पालना गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

Leave a Reply