प्रिय कमलबजार ! “कसेर सुशासनको डोलीमा तिमिलाई सिँगार्न मन छ बेहुली जस्तै”

प्रिय कमलबजार ! “कसेर सुशासनको डोलीमा तिमिलाई सिँगार्न मन छ बेहुली जस्तै”

बिष्णु प्रसाद जैसी:

प्रिय कमलबजार,
तिमी सधैँ मेरो मनमा बसेको एउटा प्यारो नाम हो, तिमी मेरा सम्झनाहरूको केन्द्र हौ । तिमीलाई सम्झँदा मेरो मन एक अजीब अनुभूतिले भरिन्छ । मेरा लागि तिमी सम्झनाको एउटा गहिरो खानी हौ, जहाँ मेरो बाल्यकालको हाँसो लुकेको छ, हरेक बिहानको उदाउँदो सुर्यले मेरी आमाको अनुहार झल्काउँछ, र साँझको चिसो बतासले बुवाको स्नेह सम्झाउँदै बाल्यकालका हरेक यादहरू र युवा अवस्थाका चुनौती पार गर्दै बटुलेका अनुभवहरु तिमीभित्रै अड्किएका छन् । घाम पानी संगैको कुहिरोमा हराएका डाँडाकाँडाहरू, बादलको गर्जन संगै हिल्लाम्मे पानीका भेलहरुले सिंचित भई बिहानीको घाममा चम्किला देखिने साना खेतबारीहरू भित्र मैले देख्ने भबिष्यका सपनाहरू र जंगलका कांडाहरु भित्र कोरिएका जिन्दगिका बाटाहरु जो सम्झना मात्रै थिएनन्  ।

जब म तिमीलाई सम्झन्छु, मेरो मनमा एक अनौठो सपना सिर्जना हुन्छ । तिमी केवल मेरो जन्मस्थान मात्र नभई मनमा शान्ति र स्थिरता दिने संजीवनी हौ । मेरो जीवन एक महत्वपूर्ण अंश प्रिय् कमलबजार तिम्रो काखमा बिताएका हर पलहरू मेरो व्यक्तित्वलाई नयाँ अर्थ दिन साबित भयका छन । तिमीले दिएको आश्रयको मूल्य नाप्न त सक्दिन, जसको कुनै मापनको एकाई छैन तर मेरो जिन्दगिको जति मूल्य छ त्यसको कयौं गुणा बढी आत्मियता छ तिमी संग । तिमी मेरा सपना बोक्ने नदी हौ । फिजाएर आफ्नै छाती माथि मेरा सपनाका भेलहरु, घुमाएर कयौं कोष टाढा बिलिन गराईदिन्छौ सम्भावनामा परिणत गरेर मेरो मुटु भित्र, अनि हराउदै म तिम्रो वक्षस्थलमा तिमिलाई नयाँ रुप दिन सुन्दर बिकासका चित्रहरु कोर्दै तिम्रो नक्सा छातिमा टासेर निदाउने गर्छु। तिमी केवल एक ठाउँ होइनौं, तिमी समयले बनाएको कथा हौ। तिमि पुर्खाहरूका पसिनाबाट निर्माण भएको एउटा ईतिहास हौ, जहाँ पर्खालभन्दा अग्ला सपनाहरू सतिसाल झै उभिएका छन् ।

तिमीले धेरै देख्यौ राजनीतिक परिवर्तनका हावाहरू, विकासका सपना बोकेर आउने नेताहरू र तिनै नेताहरूको भूलभुलैयामा हराएका नाराहरु ।

प्रिय कमलबजार,
तिम्रा गाउहरुले, तिम्रा बस्तिहरूले धेरै कुरा बुझेका छन्, यहाँका ढुंगाहरूले जनताको पीडा महसुस गरेका छन्, बग्ने खोलानालाहरूले जनताको सपना बोकेका छन् । पाचुलिका जंगल भित्र दुधेबालक काखामा बोकेर पिठ्युँमा दाउरा को भारी उठाउदै ति आमाहरुले युगौँदेखिका अभाव, संघर्ष र आशाका कथा यहीं बुनेका छन् । तिमी कहिलेकाहीँ त अचम्मले सोधिरहेझैँ लाग्छौ-“म साँच्चिकै बदलिने हो त?” तिम्रो त्यो मौन प्रश्न हामी सबैका छातीभित्र घन्किरहेको छ,
तिमी सानो छौ तर तिमीभित्र सारा ब्रह्माण्ड छ । तिमी कुनै शहरजस्तो चकचके छैनौ, तिमी प्राकृतिक सौन्दर्यको न्यानो काख हौ । तिमीभित्रको त्यो मौनता-जुन राती सुनिन्छ, जहाँ टाढाबाट भेरी छडा झर्ना, खाछडा झर्ना, छडान देबी झरनाको आवाज आउँछ तिम्रो चिच्याहट सुनिन्छ केदारनाथ, मंगलासैनी, मनकामना लगायत टोलै पिच्छे रहेका मन्दिरका घण्टीको आवाज बाट र महसुस गर्न सकिन्छ , राजनीति तिमीमा सधैं भित्रिएको छ । सडकको छेउमा बसेर चिया पसलमा बहस गर्ने युवादेखि, बेलुकीसम्म आफ्ना खेतबारी फर्केका बुबाआमासम्म- सबैको मुखमा राजनीति छ । तर त्यो राजनीति अझै पनि विकासमा रूपान्तरित हुन सकेको छैन । राजनीति जनताको सेवामा होस् भन्ने चाहना आजसम्म “माघीको घामजस्तै” छ देखिन्छ तर तताउँदैन ।

तर म जान्दछु, तिमी बाँझो छैनौ । तिमी भरिपूर्ण छौ – सम्भावनाले, प्राकृतिक सम्पदाले, मेहनती जनशक्तिले । तिमीलाई घेरेर बगेका खोलाहरू, पहाडको काखमा लुकेका जडीबुटी, तिमीभित्र सुसाइरहेको हावा – यी सबै धन हुन् । तिमी आफैंले बोकेको यो सम्पदा हामीले कहिल्यै पूरा उपयोग गर्न सकेनौं ।

हाम्रो तर्फबाट तिमीले पाउनु पर्ने थियो ,योजनाबद्ध विकास, पारदर्शी नेतृत्व र दिगो नीति । तर तिमीले भोग्यौ राजनीतिक अस्थिरता, अलपत्र परेका आयोजना, र जनतालाई थकित बनाउने आश्वासनहरू । त्यसैले त तिमी अहिले पनि विकासको पर्खाइमा छौ, तिमी अझै पनि रोजगारी खोज्दै टाढा गएका छोराछोरीको बाटो ताकिरहेको छौ ।

तर, म निराश छैन । म विश्वास गर्छु तिमीभित्र सम्भावनाको बीउ अझै बाँचेको छ । त्यो बीउलाई अंकुरित गर्न तिमिले पर्खिरहेको छौ जवाफदेही राजनीति, स्थानीय स्रोतमा आधारित योजना र तिमीप्रतिको साँचो माया । तिमिले सोचिरहे झै लाग्छ म भोटको थलो होइन, भावनाको थलो कहिले बन्छु ?

तिमिलाई लाग्छ होला राजनीति भाषण छोडेर जनतताको जिवनस्तर बदल्ने काममा कहिले लाग्छ ? तिमी सोचिरहेको छौ होला बिकासको डिपिआर कागजबाट बाहिर कहिले आउँछ ? त्यो खेतमा पानी ल्याउने कुलोमा कहिले पानी आउँछ ? तिमिलाई लाग्दो हो तिम्रो मुटुमा डोब खनेर बनाईएको जनताको अस्पताल कहिले बन्छ ? तिम्रो तस्बिर अगाडी उभिएर हेरीरहदा तिम्रा नामका अक्षरहरु मलिन स्वरमा भनिरहेथे म कहिले डेरावाल बाट घरवाला बन्न्छु ? तिमिले मनमनै सोच्दो हौ राजनीतिले आफुलाई बिर्सेर तिमिलाई सम्झिने दिन आयको भय तिमी जस्ता थुप्रै कमलबजारहरूले बनाईदिन्थ्यौ समृद्ध नेपाल र भरी दिन्थे ती वृद्ध बा आमा, गर्भवती भाउजू, ती अबोध बालबालिका, तिम्रो काख बाटै अग्लो उचाईको उडान भर्न लागिरहेका किशोर किशोरी, खाडिको चर्को घाममा पसिना बगाईरहेका युवाहरु, बम्बै , कालापहाड, सिम्लेमा कम्मरमा पटुका कसेर दुखका आँसु बगाउदै गरेका बयस्क सबैको मुहारमा खुसी ।

तिमी एउटा सम्भावना हौ-कृषि, पर्यटन, जडीबुटी, जलशक्ति, शिक्षा र संस्कृति सबै तिमीमा छन् । बस, सही दृष्टि र नेतृत्वले तिमीलाई एक नवीन गन्तव्यमा रूपान्तरण गर्न सक्छ ।  त्यो गन्तव्य जहाँ तिम्रो पहिचान केवल भौगोलिक नक्शामा सीमित हुँदैन, त्यो गन्तव्य जहाँ तिमी ‘उदाहरणीय’ बन्छौ अछामका गाउँहरूका लागि, देशका लागि ।

प्रिय कमलबजार,
समय र परिस्थितिले जहाँ भय पनि चाहाना छ, अनुभुती हुने गरि पहुच युक्त स्वास्थ, शिक्षा , गुणस्तर युक्त खानेपानी, दक्ष जनशक्ति निर्माण गरि कमलवजार-वयला-वेलखेत सम्म,
कमलवजार-वलाना फल्ट्राने- लोडेघाटसम्म, कमलवजार- डुगाँला कवालेख जामा-फल्टाने सम्म, गैरिटॉड-कुईका चाल्सा-वयला वेलखेत सम्म, गैरिटाँड सुनपिपल साईमल सम्म, कमलवजार-लाँछी-घोडासैन सम्म, गैरिटाँड- स्पाउँले सेरा- मष्टावण्हाली सम्म, कमलबाजार- सुनपिपल- बरपिपल-बिनायक सम्म, कमलवजार-ढाँकु सेरा सम्म, कमलवजार-वजुडा- चाल्सा-कुईका सम्म र अन्तमा गैरिटाँड – स्याउँले- सेरा- मष्टाबण्डाली – घोडासैन – वतासे वजार – मुली- वयला – चाल्सा – कुईका – गैरिटाँड सम्म गोलो घेरामा मेरो हत्केलाको भाग्यरेखा जस्तै तिम्रो छाती माथी कोर्न मन छ तिम्रो भाग्य रेखा र गुडाउन मन छ समृद्दिले भरिएक सपनाका गाडिहरु एकदिन सुशासनको डोलीमा कसेर तिमिलाई सिगार्न मन छ बेहुली जस्तै तर ………

(लेखक जैसी मंगलसेन नगरपालिकामा नायब सुब्बा पदमा कार्यरत  हुनुहुन्छ   ।)

 

 

Leave a Reply