‘प्लस टु’का लागि शिक्षक राख्न देउसी–भैलोबाट सहयोग जुटाइयो

‘प्लस टु’का लागि शिक्षक राख्न देउसी–भैलोबाट सहयोग जुटाइयो

 

धनगढी । यो वर्षको तिहार अछामको मेल्लेख गाउँपालिका–४, कुस्कोटमा रहेको बासुकी माध्यमिक विद्यालयका लागि अवसर बन्यो । तिहारमा खेलिने देउसी–भैलोलाई उपयोग गर्दै विद्यालयका लागि ११ लाख रुपैयाँभन्दा बढी जुटाएर अक्षय कोष स्थापना गरिएको छ ।

उच्च माद्यमिक तहको शिक्षाका लागि आर्थिक स्रोतको अभावमा देउसीभैलो खेलेर रकम संकलन गरिएको हो । स्थानीय मानवहादुर साउदका यस विद्यालयमा ०८१ सालदेखि कक्षा ११ र यो वर्षदेखि १२ कक्षाको पठनपाठन सुरु गरिएको हो ।

एसईई सकेका विद्यार्थीलाई उच्च माध्यमिक तह पढ्न धनगढी, महेन्द्रनगर लगायतका स्थानमा जानुपर्ने बाध्यता हटाउन तथा छोरीहरूलाई उच्च माध्यमिक तहसम्मको अध्ययन सहज गराउन गाउँकै विद्यालयमा ११ र १२ कक्षाको पढाइ सुरु गरिएको साउदको भनाइ छ ।

यद्यपि आर्थिक स्रोत सबैभन्दा ठुलो चुनौती बनेको उनले बताए । विद्यालयमा प्रावितर्फ ४ जना स्थायी दरबन्दीका शिक्षक छन् । राहतमा २ जना मावि र एक जना निमाविमा गरी ३ जना शिक्षक छन् । संघीय अनुदानमा एक जना र गाउँपालिकाको अनुदानमा ६ जना शिक्षक कार्यरत छन् । गाउँपालिकाको अनुदानमा राखिएका ६ शिक्षकमध्ये प्राविमा १, निमाविमा २, माविमा १ र कक्षा ११ र १२ मा दुई जना छन् ।

यस्तै स्थानीय स्रोतमा प्राविमा १, निमाविमा १ जना शिक्षक राखिएका छन् । १७ जना शिक्षक, एक जना लेखापाल र एक जना परिचर गरी १९ जना कर्मचारी रहेको यो विद्यालयमा अझै कक्षा ११ र १२ जना दुई जना शिक्षकको आवश्यकता छ ।

गाउँपालिकाको अनुदानमा ६ जना र स्थानीय स्रोतबाट २ जना शिक्षक थपेर जेनतेन चलेको विद्यालयलाई ‘प्लस टु’ सञ्चालन गर्न थप दुई शिक्षकको तलब व्यवस्थापन गर्न तिहारमा देउसीभैलो मार्फत रकम जुटाएर अक्षयकोण खडा गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय युवाले ‘बासुकी मावि निर्माणमा हाम्रो सहभागिता, कक्षा ११, १२ सञ्चालनमा अक्षय कोष स्थापनामा हाम्रो ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ देउसी–भैलो अभियान थालनी गरे ।

अछामका विभिन्न गाउँमा पुगेर मौलिक गीत देउडासमेत खेल्दै यो टिमले आर्थिक संकलन गर्‍यो । उनीहरूको यो अभियान गाउँमा मात्र नभई सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत देश–विदेशमा छरिएर रहेका ५९० जना कुस्कोटवासीसम्म पुग्यो । देश–विदेशमा रहेका उनीहरूले गाउँको स्कुलका लागि दिल खोलेर सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल शाहले जानकारी दिए ।

शाहका अनुसार, अभियानको पहिलो चरणमै ११ लाख १५ हजार ९६२ रुपैयाँ सङ्कलन भएको छ । ‘यो अभियानले राम्रो सुरुवात भएको छ । हरेक रुपैयाँमा हाम्रा दाजुभाइ र दिदीबहिनीको पसिना र माया मिसिएको छ । यसले हामीलाई ठुलो आशा र ऊर्जा दिएको छ,’ उनले भने ।

अध्यक्ष शाहका अनुसार यो रकमलाई तत्काल खर्च नगरी एउटा ‘अक्षय कोष’मा राखिनेछ । कोषको मूलधनलाई सधैँ सुरक्षित राखेर त्यसबाट आउने वार्षिक ब्याजबाट कक्षा ११ र १२ का लागि आवश्यक शिक्षकको तलब, शैक्षिक सामग्री, प्रयोगशाला व्यवस्थापन र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

‘हामी एक–एक पैसाको हिसाब समुदायलाई देखाउने छौँ । पारदर्शिता हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने ।

मेल्लेख–४ का वडा अध्यक्ष चन्द्र बहादुर साउद समुदायको यो पहल देखेर गर्व गर्छन् । ‘दाताहरूको सानो सहयोगले गाउँको मुहार फेर्न सक्छ भन्ने यो उत्कृष्ट उदाहरण हो । अब हाम्रा छोरीहरूले घरको भात खाएर, आफ्नै आँगनमा बसेर १२ कक्षासम्म पढ्न पाउनेछन् । योभन्दा ठुलो खुसी र उपलब्धि के हुन सक्छ ?’ उनले भने ।

सुदूरपश्चिममा प्रदेशमा रहेका सामुदायिक विद्यालयले विभिन्न अभाव भोगिरहेका छन् । अहिले पनि कतिपय विकट ठाउँमा पर्याप्त दरबन्दी, जनशक्ति, भौतिक संरचना नहुँदा सामुदायिक विद्यालयले विभिन्न समस्या भोगिरहेका छन् । ती समस्या सम्बोधन गर्न स्थानीय तहले काम गरिरहे पनि त्यो पर्याप्त हुन सकेको छैन । यस्ता अभाव टार्न विद्यालयहरू गाउँ, सहर तथा परदेशमा गएका स्थानीयहरूबाट चन्दा संकलन गरेर गुजारा चलाइरहेका छन् ।यही वर्ष तिहारमा बझाङको सूर्योदय आधारभूत विद्यालयले भारतमा काम गर्ने स्थानीयहरूबाट चन्दा संकलन गरेको छ । त्यहाँबाट संकलन भएको १२ लाखभन्दा बढी रकमले विद्यालयमा कम्प्युटर ल्याब र बालबालिकाका लागि चिल्ड्रेन पार्क स्थापना गर्ने विद्यालयको योजना छ । रातोपाटी बाट 

Leave a Reply