अछामको मार्कुमा छाउपडी प्रथा अन्त्य गरेको नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय ‘हर्मन गोल्डस्टेइन अवार्ड’

अछामको मार्कुमा छाउपडी प्रथा अन्त्य गरेको नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय ‘हर्मन गोल्डस्टेइन अवार्ड’

अछाम —अछामको चौरपाटी गाउँपालिका-७ मार्कुलाई छाउपडी गोठ मुक्त गाउँ बनाएको नेपाल प्रहरी अमेरिकामा ‘हर्मन गोल्डस्टेइन अवार्ड’मार्फत सम्मानित भएको छ ।

नेपाल प्रहरीले अछामको दुर्गम गाउँमा छाउपडी प्रथा अन्त्यका लागि सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी परियोजनामार्फत अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरेको हो । प्रहरीको यो परियोजना विश्वप्रसिद्ध ‘हर्मन गोल्डस्टेइन उत्कृष्ट समस्या–मुखी प्रहरी सेवाको’ उत्कृष्ट परियोजनामा छनोट भएको प्रहरी नायब उपरीक्षक एवं अछामका पूर्व प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।

प्रहरीका तर्फबाट परियोजना प्रस्तुत गर्ने टोलीमा प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रहरी निरीक्षक प्रतिमा कार्की अमेरिका गएका थिए । अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा अक्टोबर १३ देखि १५ सम्म कार्यक्रम भएको हो ।अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयको आयोजनामा भएको नेपाल प्रहरीले ‘सामाजिक रुपान्तरणका लागि समुदाय–प्रहरी सहकार्यःअछामको मार्कु गाउामा छाउपडी प्रथा अन्त्य अभियान’ सम्बन्धी प्रस्तुतिकरण गरेको थियो ।

प्रहरीले समुदायमै काम गरेर प्राप्त गरेको पहिलो अन्तराष्ट्रिय अवार्ड ‘हर्मन गोल्डस्टेइन अवार्ड’ रहेको र यसले नेपाल प्रहरीमा इतिहास रचेको भण्डारीले बताए । ‘अछाममा बसेर प्रहरी प्रमुखको रुपमा जुन काम गरियो सोही कामले पाएको अवार्ड लिन अमेरिका जानु मेरा लागि खुसीको क्षण हो,’ भण्डारीले भने ,‘समुदायमा काम गरेर अन्तराष्ट्रिय अवार्ड पाएको यो नै पहिलो हो । छाउपडी प्रथा हटाउनका लागि प्रहरीलाई थप जिम्मेवार बनाएको छ ।’

नेपाल प्रहरीले यो मोडेललाई सुदूरपश्चिम र कर्णालीका अन्य जिल्लाहरूमा पनि विस्तार गर्न सकिने निष्कर्ष निकालेको उनले बताए ।

यो पुरस्कार अमेरिकी अपराधशास्त्री प्रोफेसर हर्मन गोल्डस्टेइनको नाममा सन् १९९३ देखि हरेक वर्ष प्रदान हुँदै आएको हो । गोल्डस्टेइनले सन् १९७९ मा समस्यामुखी प्रहरी सेवाको अवधारणा प्रतिपादन गर्दै प्रहरीलाई अपराधपछि मात्र प्रतिक्रिया जनाउने प्रणालीबाट हटाएर सामाजिक समस्या पहिचान र दीर्घकालीन समाधानतर्फ उन्मुख गराएका थिए ।

नेपाल प्रहरीको यो परियोजनाले अपराध नियन्त्रणभन्दा पर गएर सामाजिक सोच, सांस्कृतिक मान्यता र व्यवहारमा रुपान्तरण ल्याउने दृष्टिकोण प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा यसले नेपालको प्रहरी सेवाको क्षमता, उत्तरदायित्व र मानव–केन्द्रित प्रतिबद्धता उजागर गरेको भण्डारीले बताए ।

छाउपडी प्रथा हटाउन सारा मोडेल

नेपाल प्रहरीले सन् २०१८ अक्टोबरदेखि सुरु गरेको समुदाय–प्रहरी साझेदारी (सीपीपी) कार्यक्रमअन्तर्गत अछाम जिल्लाको चौरपाटी गाउँपालिकाको मार्कु गाउँमा महिलामाथि महिनावारीका कारण हुने सामाजिक बहिष्कार र हिंसा अन्त्य गर्न दीर्घकालीन अभियान सञ्चालन गरेको थियो । परियोजना सुरु हुनुअघि उक्त गाउँमा ८५ वटा छाउगोठ थिए । अन्धविश्वास र धार्मिक डरका कारण महिलाहरू महिनावारी हुँदा ४ दिन र पहिलोपटक महिनावारी हुँदा बढीमा १५ दिनसम्म गोठ वा झुपडीमा अलग बस्न बाध्य पारिन्थ्यो । सन् २००९ देखि २०१८ सम्म अछाममा मात्रै छाउपडीका कारण १४ महिलाको मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

प्रहरीले मार्कु गाउँमा रहेको छाउपडी प्रथालाई हटाउन समस्यामुखी प्रहरी सेवाको सिद्धान्तमा आधारित ‘सारा’ (स्क्यानिङ, विश्लेषण, प्रतिक्रिया र मूल्याङ्कन) मोडेल अपनाएको थियो । प्रारम्भमा जिल्ला प्रहरी कार्यालय अछामले सबै स्थानीय तहसँग सम्झौता–पत्र गर्दै छाउपडी प्रथा अन्त्यलाई प्राथमिक कार्यसूची बनाएको थियो । त्यसपछि प्रहरीले समुदायका मूल्य मान्यता, कानुनी आधार, खर्च र दीर्घकालीन रुपमा समस्या समाधान गर्न ‘सफ्ट इम्प्लिमेन्टेसन एन्ड कन्टिनुअस अवेयरनेस एन्ड मोनिटरिङ’ संयोजन गर्ने रणनीति लागू गरेको थियो ।

प्रहरीको यस कार्यक्रमअन्तर्गत सन् २०१९ मा मार्कुमा रहेका सबै ८५ वटा छाउगोठ भत्काइएका थिए । प्रहरीका अनुसार पछिल्ला ६ वर्षमा गाउँमा कुनै पनि गोठ पुनःनिर्माण भएको छैन । त्यस्तै, २ सय ८७ वटा सामुदायिक सचेतना कार्यक्रम, २७ वटा विद्यालय–सम्पर्क कार्यक्रम र ७ सय ३० वा प्रहरी–सामुदायिक गस्ती सञ्चालन भएका छन् । यी गस्तीमार्फत करिब १३ हजार ८ सय ५० किलोमिटर क्षेत्र कभर गर्दै करिब ३० हजारभन्दा बढी स्थानीयसँग प्रत्यक्ष संवाद भएको छ । २२ वटा सार्वजनिक सुनुवाइ कार्यक्रम र नियमित बैठकबाट योजनाको पारदर्शिता र स्थानीय सहभागिता सुनिश्चित गरिएको छ ।

परियोजनामा १ सय ३४ जना प्रहरी र करिब ७० संस्थाहरू सहकार्य गरेका थिए । यस अवधिमा मार्कुमा छाउपडी प्रथाका कारण कुनै मृत्यु वा अन्य घटना भएका छैनन् ।

ekantipur.com बाट 

Leave a Reply