अछामका मञ्जु सहित पाँच जना इन्टेग्रीटी आईकन–२०२० मा छनौट

अछामका मञ्जु सहित पाँच जना इन्टेग्रीटी आईकन–२०२० मा छनौट

टेकराज भण्डारी, पौष २९, अछाम:कर्मचारीहरुका कार्यहरुको सुक्ष्म अनुसन्धान गर्दै अकाउन्टविलिटी ल्याब नेपालले सार्वजनिक गरेको इन्टेग्रीटी आईकन–२०२० मा अछाम जिल्लाका मञ्जु महत सहित देशभरबाट पाँच जना छनौटमा परेका छन् । कोभिड –१९ महामारीले निम्त्याएको चुनौतीका वीच सातौँ संस्करणको इन्टेग्रीटी आईकन २०२० मा उत्कृष्ठ पाँच भित्र मंगलसेन नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अछाममा छैटौँ तहमा कार्यरत मञ्जु महत पनि पर्नुभएको हो ।
अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट सार्वजनिक गरेको इन्टेग्रीटी आईकन–२०२० मा महत सहित नेपालगञ्ज नगरपालिका वडा नम्बर १२ मा कार्यरत जनस्वास्थ्य निरिक्षक आरती थारु, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय बुटवलका महाशाखा प्रमुख दिपक ज्ञवाली,  कृषि ज्ञान केन्द्र, ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम बहादुर आले मगर र नीलकण्ठ  माध्यामिक विद्यालय, धादिङका शिक्षक डा. नविनबन्धु पहाडी छनौट हुनु भएको छ ।
२०२८ सालमा डोटीको सिलगढी जन्मिएकी मञ्जु महत तीन वर्षको हुँदा बुवाको मृत्यु भए पछि मामाघरमा बसेर पढिन् । भलिबलकी राष्ट्रिय खेलाडी महतले २०५० सालमा प्रा.वि. तहको स्थायी शिक्षकमा नाम निकाल्दा पनि त्यो जागिर छोडेर महिला तथा बालबालिकाको अस्थायी जागिर गर्नुभयो । द्वन्द्वकालमा तात्कालिन अछाम जिल्लाका ७५ वटै गाविस तथा हालका १० वटै पालिकामा पुगेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या संग उनले साक्षात्कार गरेकी छन् ।
२०५८ साल फागुन ४ गते अछाम आक्रमण पछि एसएलसी परीक्षा दिईरहेका किशोरीलाई राज्य पक्षले माओबादी भनेर लगेपछि महतले विद्यार्थी हुन भनेर जिम्मा लिएर छुटाएकी मात्रै होईन विभेद विरुद्ध आवाज उठाउन उनलाई द्वन्दकालले पनि रोकेन ।
महिला हिंसा विरुद्ध जनचेतना फैलाउन बुहारीसँगै सासु र श्रीमानलाई राखेर कार्यक्रम गर्ने कार्यढाँचा नै तयार गरेर लागू गर्न महतको ठुलो भूमिका छ । जुन कार्यढाँचा अनुसार काम गर्दा नतिजा राम्रो आएको कार्यक्रममा पुरुषको सहभागिता बढेको, सासु र श्रीमान नबोल्ने परिवार मिलेको पाईयो ।  अहिले उनले तयार गरेको ढाँचा जिल्लाका १० वटै पालिकाले मागेका महतले बताउनु भयो ।
छाउपडी प्रथा न्युनिकरणका लागि मापदण्ड तयार गर्ने, नेतृत्व विकासका लागि बालभेला आयोजना गर्ने, हिंसामा परेका महिलालाई सशक्तीकरण गर्ने लगायतका कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको जिल्लाका सरोकारवालाहरु बताउने गर्दछन् । अब उनको लक्ष्य भनेको महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिका लागि बनेका कार्ययोजनाको कार्यान्वयन् भए÷नभएको, सेवा पाए÷नपाएको अनुगमन गर्ने पालिका स्तरिय मापदण्ड बनाउनु रहेको छ । यदि कुनै महिलाले घरेलु हिँसाको सामना गरिन् भने सबैले पहिलो पटक सम्झिने नाम मञ्जु महत बनेको छ । आफु इन्टेग्रीटी आईकन २०२० को छनोटमा परेको खबरले खुसी भएको र थप काम गर्न जिम्मेवारीबोध भएको महतको भनाई छ ।
इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान भएको अकाउन्टविलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले बताउनु भयो । सन् २०१४ मा नेपालबाट शुरु भएको यो अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ  ।
नेपालगञ्ज स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक आरती थारुले प्युठानमा महिलाका लागि गरेको कामलाई उल्लेखनिय रुपमा लिईएको छ । उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरेको र हाल नेपालगञ्जमा रहँदा कोभिड – १९ महामारीको समयमा उनले क्वारेन्टाईनमा काम गर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेका छन् ।
यस्तै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय बुटवलका महाशाखा प्रमुख दिपक ज्ञवालीले वनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्नुभएको छ ।
कृषि ज्ञान केन्द्र, ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम बहादुर आले मगरले कृषकलाई दिगो व्यवसायिक खेतीगर्ने तालिम दिन फार्म स्कुल सञ्चालनमा ल्याए । त्यसबाट कृषकले खेतीगर्ने तरिका र प्रविधिको उचित प्रयोग गरेर आयआर्जन गर्नसकियो । त्यसै गरेर, कृषकको समस्या बुझेर समाधान गर्न अगुवा कृषक गोष्ठिको आयोजना गरेर वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा पनि उल्लेख्य काम गरेको मूल्यांकन गरिएको छ

नीलकण्ठ उच्च माध्यामिक विद्यालय, धादिङका शिक्षक डा. नविनबन्धु पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नका लागि बाल अनाथाश्रम पनि सञ्चालन गरेका छन् ।
यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १५ सय २ मनोनयनबाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल,  पूर्र्व सचिव जीवन प्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइ आइ डि एस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहनुभएको थियो ।
आगामी माघ ९ गते भर्चुअल माध्यमबाट उहाँहरुलाई सम्मान समारोह आयोजना गरिने अकाउन्टविलिटी ल्याब नेपालले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *