रोपाईँ

रोपाईँ

शहरबाट प…….र
गाउँमा पनि थुप्रै खेती छन् !
त्यहाँपनि रोपाईँ हुनेगर्छ ।
साथी !
तिम्रो क्यामोरालाई थाहा छ ?

साथी,
घामका पाईलाहरु गनेर
दिनको आयतन नापीरहेका
खेतालाहरुको ढाडको दुखाई,
हत्केलामा निस्किएका ठेलाहरुको उचाई

हिलोले औँलाका कापहरुमा बनाएको
खाल्डाहरुको गहिराई !
तिम्रो क्यामोराले अनुभव गर्न सक्छ होला त ?

दिनभरको झरीमा रुझेपछि
धानको बिउजस्तै हरिया ओठहरु बनाएर
एक हल बुढा रहरहरु जोतिरहेको
एउटा हलीको जीवन-संघर्ष,
तिमीले खिचेका फोटोहरुमा आउँछ होला त साथी ?

धेरै फरक छ साथी !
रहरले रोपाईँ गर्नु र बाध्यताले रोपाईँ गर्नुमा !
एकदिन रमाईलो गर्नु र
बर्षौँदेखी वर्षौँसम्म मजदुरी गर्नुमा !
अनी
एकदिन हिलोमा पस्नु र
सारा जीन्दगी दुखको दलदलमा फस्नुमा !

तिम्रो जुत्ता फोहोर हुन्न भने
तिम्रो कपडामा लागेको हिलोले~
तिम्रो प्रतिष्ठा मैलो हुन्न भने !
क्यामेरा राखेर आउ साथी
केही वर्ष संगै रोपाईँ गरौँ !!

विवेक धिमाल
बिराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *