अछामको कमलबजारमा दुई दिने आँखा शिविर सुरु

अछाम । अछामको कमलबजारमा दुई दिने आँखा शिविरको आज उद्घाटन भएको छ । अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । शिविरको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य शाहले शिविरले आँखासम्बन्धी समस्या भएका स्थानीय नागरिकलाई फाइदा पुग्ने बताउनुभयो ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँ, नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीको आयोजना र कमल बजार नगरपालिका अछामको सहजिकरणमा शिविर सञ्चालन भइरहेको छ । शिविर भोलीसम्म सञ्चालन हुनेछ । आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र गेटा आँखा अस्पताल बाट आएका आँखा सम्बन्धी विशेषज्ञद्वारा आँखाको मोती विन्दुको निःशुल्क अप्रेशन लगायत आँखामा समस्या भएका व्यक्तिहरूको उपचार समेत गरिने कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिनुभयो ।
कमल बजार बहुमुखी क्याम्पस कमलबजार अछाममा सञ्चालित भइरहेको शिविरमा सेवा लिन आएका कमलबजार नगरपालिका–९ का ईन्द्र रावतले घर आगनमै आँखा सम्बन्धी विशेषज्ञ सेवा लिन पाउँदा खुसी भएको बताउनुभयो ।