आकर्षक भवनले काम गर्ने वातावरण सृजना हुन्छ : मन्त्री सिंह

आकर्षक भवनले काम गर्ने वातावरण सृजना हुन्छ : मन्त्री सिंह

अछाम। उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आकर्षक भवनले काम गर्ने वातावरण सृजना गर्ने बताए।

सोमबार पञ्चदेवल विनायक नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै सिंहले भवन मात्रै आकर्षक भएर नहुँने तर आकर्षक भवनले काम गर्ने वातावरण भने सृजना हुने बताएका हुन्।

जनतालाई घरदैलोमै सेवा प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले नै संघीयता आएको भन्दै सिंहले तल्लो तहमा पालिकाले जनताको सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताए।

तीनवटै तहका सरकारलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न संघीय ऐन आवश्य रहेको उनले बताए। त्यसमा सरकार लागिपरेको उनको भनाई थियो। संघीयता जनतालाई सजिलो होस् भनेर आएको हो भन्ने कुराको अनुभूति गराउन तीनवटै तहका सरकारले लाग्नुपर्नेमा उनले जोड दिए।

देश विकास गर्न राजनीतिक स्थायित्व अती आवश्यक भएकाले त्यसैका लागि दुई ठूला दलहरु मिलेर सरकार संचालन भइरहेको सिंहले बताए। नगरपालिका घोषणा भए पनि त्यो अनुरुपको आवश्यक सुविधा नभएको भन्दै सिंहले त्यसको त्यस्ता वडाहरुलाई नगरउन्मुख बनाउन नीतिगत तथा कार्यक्रमको व्यवस्था गर्न जरुरी रहेको बताए।

युवाहरु पलायनको क्रम बढेकोप्रति चिन्ता ब्यक्त गर्दै सिंहले युवाहरुलाई गाउँमै रोक्न सरकारले थुप्रै कार्यक्रम ल्याएको तर त्यसको प्रचारप्रसार कम भएको बताए।

कार्यक्रममा संघीय सांसद पुष्पबहादुर शाह , पूर्व सांसद रामबहादुर विष्ट, पूर्व पर्यटन मन्त्री जीवन बहादुर शाही, पूर्व सांसद अक्कल बहादुर विष्ट, पूर्व मेयर देवराज देवकोटा, प्रदेश सभा सदस्यहरु मानबहादुर रावल र अक्कलबहादुर रावल, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवर र तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विसीले शुभकामना मन्तब्य राखेका थिए।

सो अवसरमा लेखापाल लोकबहादुर चलाउने र रोजगार संयोजक भरत अधिकारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरियो। नगर प्रमुख अम्बिका चलाउनेको सभापतित्वमा भएको कार्यक्रममा उप मेयर हर्कबहादुर रावलले स्वागत गरेका थिए। कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुतिसमेत प्रदर्शन गरिएको थियो।

 

Leave a Reply